काठमाडौं–बागमती र प्रदेश १ मा आज बुधबारदेखि हिउँदे अधिवेशन सुरु हुँदैछ। दुवैमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले दुवैले त्यसको सामना गर्दैछन्। गत पुस १० गते बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध र पुस १२ मा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले अविश्वास प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ। प्रदेश सभाको आजको बैठकमा अविश्वास प्रस्ताव भने पेश हुने छैन। बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र, विधेयक प्रमाणीकरणको पत्र, प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउने, सातौँ अधिवेशनको अवसरमा प्रत्येक दलका नेताले शुभकामना दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि स्वीकृत गर्नेछ ।
समितिले तयार पारेको कार्यविधिअनुसार नै अविश्वास प्रस्तावको प्रक्रिया अघि बढाइने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहका ४५ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । तीमध्ये तीनजनाले प्रस्तावको समर्थन फिर्ता लिएका छन् ।
उता, प्रदेश १ मा प्रचण्ड–नेपाल तथा केपी ओली दुवै पक्षका संसदीय दलले एक अर्का सांसदलाई निलम्बन गरेको घोषणा गरेकाले आजदेखि सुरु हुने प्रदेश सभा बैठकमा तनाव सिर्जना हुने देखिएको छ।
प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । उनीहरुले मुख्यमन्त्रीसहित आठजना सांसदलाई निलम्बन गर्दै यो समूहले संसदीय दलको नेता भीम आचार्यलाई बनाएको छ । ओली समूहले भने १६ सांसदलाई निलम्बन गरेको घोषणा गरेको छ ।
दुवै समूहले एक अर्का पक्षलाई संसद बैठकमै प्रवेशमा रोक लगाउनुपर्ने माग राखेका छन्। प्रदेश–१ मा नेकपाका ६७ सांसद छन् । जसमध्ये ३८ जनाले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तीमध्ये तीनजनाले फिर्ता लिएका छन्।
प्रदेश १ मा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।