बक्यौता माग गर्दै राजधानीमा गरिएको उखु किसानको आन्दोलन। फाइल तस्बिर काठमाडौं- उखु किसानहरुलाई चिनी उद्योगीले तिर्न बाँकी बक्यौता रकम दिलाउन सरकारले किसानसँग गरेको २१ दिने सम्झौता अवधिमा ४ उद्योगले ५७ करोड ३० लाख रुपैयाँ बक्यौता भुक्तानी गरेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा श्रीराम सुगर मिल, अन्नपूर्ण चिनी उद्योग, इन्दिरा सुगर मिल र लुम्बिनी चिनी उद्योगले किसानको सो रकम भुक्तानी गरेका हुन्।
उद्योगहरुले किसानहरुलाई दिन बाँकी बक्यौता अझै ८ करोड १ लाख बाँकी छ।
श्रीराम सुगर मिलले किसानलाई कुल ३५ करोड दिन बाँकी थियो। मिलले ३५ करोड रकम नै चुक्ता गरेको छ।
अन्नपूर्ण चिनी उद्योगले १७ करोड बक्यौता तिर्न बाँकी थियो। उसले १० करोड ८८ लाख किसानलाई भुक्तानी गरेको छ। मिलले १ करोड ७६ लाख भने खातामा जम्मा गरिदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। उद्योगले ४ करोडभन्दा बढी बक्यौता दिन बाँकी छ।
त्यस्तै इन्दिरा सुगर मिलले ४ करोड ७० लाख बक्यौता तिर्न बाँकी रहेकोमा १ करोड ५० लाख रकम मात्र तिरेको हो।
लुम्बिनी चिनी उद्योगले ८ करोड ४१ लाख दिन बाँकी रहेकोमा ५ करोड १६ लाख भुक्तानी गरेको छ। उक्त उद्योगको ३ करोड रकम मन्त्रालयले रोक्का गरिएको छ।
महालक्ष्मी सुगर मिलले भने किसानको बक्यौता रकम तिरेको छैन। सञ्चालक फरार रहेकाले महालक्ष्मी सुगरमिलबाट किसानको बक्यौता रकम दिलाउन समस्या परेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मी बताउँछन्। यो मिलबाट किसानहरुले पाउन बाँकी बक्यौता रकम दिलाउन मन्त्रालयका तर्फबाट सक्दो पहल भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।