काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।
विशेष अदालतको आदेशले थुनामा रहेका बस्न्यात आइतबार सर्वोच्च पुगेका थिए। पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध दायर भएको निवेदनमा न्यायाधीश हरि फुयाँलको इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो।
सर्वोच्चले विशेषको आदेश र अन्य फाइलहरु अर्को पेशीमा पेश गर्न भनेको छ। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
भौतिक पूर्वाधार सचिवको रुपमा कार्यरत रहँदा उनले सरकारी जग्गालाई व्यक्तिको बनाउन भूमिका खेलेको अख्तियारको अभियोगपत्रमा दावी थियो।
त्यसअघि उपस्थित हुन आएका उक्त मुद्दाका सबैजसो प्रतिवादीलाई धरौटीमा छोडेकोमा उनी थुनमा जाने दोस्रो व्यक्ति थिए। विशेषको आदेश बदर हुनुपर्ने माग गर्दै उनी सर्वोच्च पुगेका थिए।
अख्तियारले पृूर्वमन्त्रीहरू विजयकुमार गच्छादारसहित ११० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले थप ६५ जनाबाट सरकारी जग्गा जफत गर्ने मात्र उद्देश्यले विपक्षी बनाएको थियो। चारमन्त्रीसहित पूर्वसचिव, भूमि सुधार आयोग र मालपोत कार्यालयका कर्मचारी, केही व्यापारीहरूसमेत विरुद्ध मुद्दा दायर भएको थियो।
तीमध्ये अधिकांश आरोपीहरू विशेषमा हाजिर भएका छन्। गच्छादार, भाटभटेनीका मालिक निर्मल गुरुङसहित केही अभियुक्त हाजिर भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।