काठमाडौं- पत्रकार नारायण वाग्लेले दोस्रो जनआन्दोलनको कबोल सम्झाउन २०६३ सालमा मधेस आन्दोलन भएको बताएका छन्। सोमबार माइतीघर मण्डलामा मधेस आन्दोलनका सहिदहरुलाई माल्यार्पण गर्न आयोजित कार्यक्रममा सम्बोधन गर्दै वाग्लेले मधेस विद्रोहलाई नेपालको राजनीतिक विद्रोह र आन्दोलनको रुपमा सम्झना गर्नु उपयुक्त हुने बताए।
'जनआन्दोलन सफल भयो। त्यसको एउटा कबुल राज्य पुनर्संरचना पनि थियो। त्यसका लागि जनतालाई सडकमा उतारियो। तर जब उनीहरु (नेतृत्वकर्ता) सिंहदरबार गए र अन्तरिम संविधान बनाए। तर राज्य पुनर्संरचना त छैन त! त्यसपछि संघीयतालाई प्रष्ट गर्न जनता सडकमा ओर्लिएका हुन्। र लहानबाट सहादत सुरु भयो', वाग्लेले भने।
पुस ५ मा प्रतिनिधि सभा विघटनपछि गठित बृहत नागरिक आन्दोलनका एकजना नेतृत्वकर्ता समेत रहेका वाग्लेले आफूहरुले संविधानवाद खोजेको भन्दै त्यसको रक्षाका लागि सडकमा आइरहेको बताए।
लेखक तथा विश्लेषक तुलानारायण साहले मधेस आन्दोलन एक दिनमा नभएको बताए। 'यो देशको सरकारी बन्दुक चलाउने ठाउँमा मधेसी पनि हुनुपर्यो, यो देशको सरकारी कलम चलाउने ठाउँमा मधेसी पनि हुनुपर्यो, यो देशको सरकारी पैसा चलाउने ठाउँमा मधेसी पनि हुनुपर्यो भन्ने हाम्रो माग थियो', उनले भने, 'बन्दुक, कलम र पैसाले राज्य बन्छ। राज्य सञ्चालन हुन्छ। त्यहाँनेर एक समुदायको मात्रै बर्चस्व भयो, त्यो विरुद्धको संघर्षको संघर्ष आज पनि जारी छ।'
कार्यक्रममा सम्बोधन गर्दै पूर्वराजदूत विजयकान्त कर्णले लोकतन्त्र रक्षाका लागि अहिले जनता सडकमा उत्रिनुपर्ने बताए। 'जनता सडकमा उत्रिउञ्जेल लोकतन्त्र सुरक्षित हुन्छ', उनले भने।
लोकतन्त्र रहेन भने संघीयता पनि सुरक्षित नहुने बताए।
'मैले बानेश्वरमा आफ्नै हातले संविधान जलाएको थिएँ। तर अहिले म नै संविधान रक्षाको लागि सडकमा उत्रिएको छु', उनले भने, 'तर जसले विश्वको उत्कृष्ट संविधान भन्ने उनी (प्रधानमन्त्री) नै संविधान जलाउन लागीपरेका छन्।'
त्यस्तै त्रिभुवन विश्वविद्यालयमा सहप्रध्यापक बालकृष्ण माबुहाङले अहिले राज्य नै बाहुन क्षेत्रीको मात्रै भएको बताए। 'मधेसीहरुले जब नागरिक बन्न खोजे, सहिद हुनुपर्यो', उनले भने।
उनले प्रधानमन्त्री ओलीले समाजलाई विभक्त गरेको आरोप पनि लगाए।
२०६३ माघ ५ गते लाहनमा रमेश महतोको गोली लागि मृत्यु भएकाले सोही दिनलाई मधेस आन्दोलनप्रति सद्भाव राख्नेहरुले बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन्।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।