काठमाडौं- अमेरिकी इलेक्ट्रिक कार उत्पादन कम्पनी टेस्लाले भारतमा गर्ने भनेको लगानी नेदरल्यान्डतर्फ मोडिने भएको छ। भारतमा करको झन्झटबाट जोगिन करमैत्री देश नेदरल्यान्डलाई टेस्लाले रोज्ने देखिएको छ।
टेस्लाले भारतमा गत साता टेस्ला इन्डिया मोटर एन्ड इनर्जी प्रालि कम्पनी दर्ता गरेको थियो। बैंगलोरमा दर्ता गरिएको उक्त कम्पनीमार्फत् टेस्लाले भारतमा लगानी गर्ने योजना बनाएको थियो।
भारतमा टेस्लाको लगानी मोडिन नदिन पुँजीगत लाभ र लाभांसका बारेमा सरकार लचिलो हुनुपर्ने सुझाव विज्ञले दिएका छन्। टेस्लाले खोजेको जस्तो सहजता भारतका सबै अटो उद्योगहरुका लागि आवश्यक रहेको उनीहरुको भनाइ छ।
भारतमा २०१७ मा एमजी मोटर्स प्रवेश गर्दा उसको क्षेत्राधिकार चीन नै हुने भनिएको थियो। एमजी मोटर्स चीनको एसएआइसी मोटरको भगिनी कम्पनी हो। त्यस्तै कोरियाली कार उत्पादक किया मोटर्सलाई समेत उसको कर्पोरेट क्षेत्र दक्षिण कोरिया नै हुने भनिएको थियो। तर टेस्लाले यस बारेमा रोखेको जिज्ञासामा भारत सरकारले जवाफ दिएको छैन।
टेस्ला अमेरिकाको क्यालिफोर्नियामा दर्ता भएको कम्पनी हो भने टेस्ला मोटर नेदरल्यान्ड उसको सहायक कम्पनी हो। विज्ञहरुका अनुसार अमेरिकी उत्पादनमा आधारिक कम्पनीहरुको मुख्य रोजाइ नेदरल्यान्ड नै हुने गरेको छ। नेदरल्यान्डमा अमेरिकी कम्पनीहरुले उपयुक्त करको दर र बलियो बौद्धिक सम्पत्ति अधिकार पाउने गरेका छन्।
पुँजीगत लाभ करदेखि लाभांसमा लाग्ने करका बारेमा नेदरल्यान्ड सहज रहेकाले उत्पादकहरुको रोजाइमा रहँदै आएको छ। भारतमा ल्याउने भनिएको लगानी नेदरल्यान्ड जाने सम्भावना बढेपछि भारतमा खोलिएको कम्पनीले टेस्लाका कार बिक्री गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।