काठमाडौं- नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले नेपाली भलिबलको उचो समय देखेकी छिन्। उपलब्धीमा सँगसँगै छिन्। कप्तानका रुपमा उनले दिलाएका पदक नेपाली भलिबलको भविष्य देखाउने बाटो बनेको छ, तर यसैगरी नयाँ पुस्ता देखिन सक्ला भन्ने चिन्ता पनि छँदैछ।
२७ वर्षकी अरुणालाई संयोग मात्रै लाग्छ, उनकै कप्तानीमा नेपालले ऐतिहासिक सफलता पाउनु। अनि आफूलाई भाग्यमानी ठान्छिन् इतिहासकै उत्कृष्ट टिमको नेतृत्व गर्न पाउँदा। अरुणाकै कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपको उपाधि जितेको थियो। नेपालले एक सेट पनि नगुमाइ उपाधि जित्दा अरुणा चर्चाको केन्द्रमै थिइन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनल पुग्यो भलिबल टिम। उचाइका सिढिमा नेपाली टिमले एउटा इट्टा थप्दा अरुणा पनि आफ्नो खेल जीवनमा अर्को भर्याङ चढ्दै थिइन्। भारतसँग ३-२ को सेटमा पराजित भए पनि नेपालले ऐतिहासिक रजत पदक पायो।
शालिन र नम्र स्वभावकी अरुणाले गएको हप्ता २०७६ का लागि दिइएको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्ड जितिन्। अहिलेसम्मकै ठूलो अवार्ड आफूले पाएको बताएकी अरुणा त्यसले अझै केही गर्ने ऊर्जा मिलेको बताउछिन्। उनै अरुणा शाहीसँग नेपाल लाइभका ऋग्वेद शर्मा र सरोज तामाङले कुराकानी गरेका छन्-
भर्खरै पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइज अवार्ड विजेता हुनु भएको छ। अवार्ड जित्नु भन्दाअघि जित्छु भन्ने विश्वास थियो?
मेरो नाम मनोनयनमा पर्दा नै निकै खुसी लागेको थियो। आफूले गरेको परिश्रमको मूल्याङ्कन भयाे भन्ने लागेको थियो। जब जिताउने अभियान सुरु भयो। भोटिङबाट प्रतिस्पर्धा गर्दै गर्दा चाहिँ एकदम डर लागेको थियो। हार्छु कि क्या हो भन्ने जिज्ञासाहरु आइरहेको थियो।
मनोनयनमा परेका सबै उत्कृष्ट थिए। उनीहरुसँग प्रतिस्पर्धा गर्दा डर चाहिँ हुँदो रहेछ। मैले भन्दा पनि मलाई जिताउन मेरो अभियानमा जुटेका दाइहरुले धेरै मिहिनेत गर्नु भयो। उहाँहरुकै सहयोगको कारण मैले जित्न सफल भएको हो। यो मेरो अहिलेसम्मकै ठूलो अवार्ड हो।
कस्तो महसुस भइरहेको थियो अवार्ड लिँदै गर्दा?
मनोनयनमा आफ्नो परिश्रमले गर्दा परेँ। टिमले राम्रो गरेको थियो। त्यसैले पनि परेँ। त्यो अवार्ड जितेपछि थाहा भयो कि मलाई यति धेरैले माया गर्नु हुँदो रहेछ। म अवार्डले भन्दा पनि सबैको माया पाएकोमा खुसी छु।
अहिले सबैबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?
अहिले सबैले राम्रो भयो भनिरहनु भएको छ। बधाइ दिइरहनु भएको छ। अवार्ड पाउनै पर्ने थियो भनिरहनु भएको छ। कतै-कतै होला नराम्रो भन्ने पनि तर मैले चाहिँ सुनेको छैन।
भलिबलप्रतिको माया र साथ अवार्डले पनि देखाएको छ। अरु खेलभन्दा भलिबलमा राम्रो साथ छ भन्ने सन्देश पनि गएको छ। यो अभियानमा तपाईंलाई जिताउन जति सहयोग आयो, जति खर्च भयो। यतिधेरै खर्च हुनु आवश्यक थियो? यसबारे केही सोच्नु भएको छ?
सुरुवातमै मलाई यस्तो गर्नु ठीक लागेको पनि थिएन। एउटा सिमबाट एउटा भोट गर्ने हो भने ठीक हुने कुरा हो। यो त जो आर्थिक रुपमा बलियो छ त्यसले जित्ने जस्तो देखियो।
मैले दाइलाई सुरुमा होस् नगरौं यस्तो कोभिडको महामारीमा भनेको थिएँ। तर भलिबलले यस्तो राम्रो छाप छोडेको छ। राम्रो नतिजा निकालेको पनि छ। बीचैबाट तैंले यसरी हात झिक्नु हुन्न हामी गरिहाल्छौं नि भनेर दाइहरुले भनेपछि हुन्छ नि त भनेर लागेको हो। तर मलाई यस्तो चाहिँ ठीक हो जस्तो लाग्दैन।
तपाईंलाई जिताउने अभियानमा मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। कोरोना महामारीपछि पहिलो पटक त्यति धेरै दर्शक राखेर न्यु डायमण्ड र एपीएफबीच खेल भयो। लामो समयपछि मैदानमा फर्किंदा कस्तो भयो?
खेल निकै रमाइलो भयो। प्रतिस्पर्धा पनि निकै रोमाञ्चक भएको थियो। मैले सोचेको पनि थिइनँ दर्शक त्यति धेरै आइदिनु हुन्छ। दर्शकको उपस्थिति, त्यो माहोल हेर्दा कुनै ठूलो खेलको फाइनल जस्तो देखिन्थ्यो। त्यो माहोल देख्दा नै खुसी लागेको थियो। जितेको जस्तो महसुस भइरहेको थियो।
एपिएफसँगको मैत्रीपूर्ण खेलपछि प्रतिभा माली पनि मैदानमा फर्किएकी छिन्। लामो समयपछि कोर्टमै साथीहरुसँग जम्काभेट भयो। त्यो बेलाको माहोल कस्तो थियो?
धेरै खेलाडीहरु अहिले पनि अभ्यास बाहिर छन्। कोरोनाले सबैलाई लथालिंग बनाएको छ। हामी सबैलाई खेल्न अलिकति अप्ठ्यारो भएको हो कि जस्तो महसुस भइरहेको थियो। माहोल त खेलमा फर्किएको देखिन्थ्यो तर खेल्न असहज भइरहेको थियो।
अब अगाडिका खेलमा चाहिँ यो खालको माया र सहयोगले कस्तो अर्थ राख्छ? अथवा आफूलाई अगाडि बढाउन यस्तो किसिमको सहयोगले के फरक पार्छ?
धेरै अर्थ राख्छ। पहिले पनि धेरै साथ र सहयोग गरिराख्नु भएको थियो। धेरै समयदेखि भलिबलमै लागि रहेको छु। मिहिनेत गरिरहेको छु। यो माया र साथले गर्दा अझै राम्रो गर्नु पर्छ है भन्ने भाव आएको छ। उत्तरदायित्व पनि बढेको छ। झनै जोश थपिएको छ। देशलाई चिनाउन अझै केही गर्नु पर्छ भन्ने भएको छ।
यो कोरोना भाइरसको कारण बितेका महिना कस्तो रह्यो? खेल जीवनमा त्यो समयलाई कसरी लिनु हुन्छ?
भलिबल खेलेदेखि मैले परिवारसँग धेरै समय बिताउन पाइरहेको थिइनँ। कोभिडपछिको लकडाउनमा सुरुवाती दिनहरुमा चाहिँ परिवारसँग रमाइलो मानेरै बित्यो। एक महिना, दुई महिना हुँदै गएपछि एकदमै अभ्यासहरु सम्झिएँ। साथीभाइदेखि प्रतियोगिताहरुको धेरै याद आयो।
सुरुको एक महिना चाहिँ म घाइते भएकोले विश्राममै थिएँ। मेरो हातमा समस्या आएको थियो। केही दिनपछि चाहिँ विस्तारै आफैं फिटनेसको लागि अभ्यास गर्न थालेँ।
कोरोना भाइरसको संकट आइपर्नु भन्दा अघि पनि हाम्रा खेलाडीहरुमा घाइते हुनेको संख्या ठूलो थियो। त्यो बेला लगातार प्रतियोगिताहरु पनि भइरहन्थ्यो। खानपिन र अभ्यासकै कमी हो कि? के कारण लाग्छ एकपछि अर्का खेलाडी घाइते हुनुमा?
यसमा सबै कुरा मिल्नु पर्छ। ती मध्ये केही कुराहरु नमिल्दा त घाइते हुने हो। हाम्रो मैदानदेखि लिएर शारीरिक तन्दुरुस्ती, खानपान त्यहाँ धेरै कुरा छ। धेरैले चाहिँ खेल एकपछि अर्को भएर होला भन्ने कुरा गर्नु भएको छ। हामीले खेल्ने मैदान पनि त राम्रो हुँदैन।
यहाँ एउटा कुरा मात्रै छैन। एउटै कुराले गर्दा घाइते हुने गरेका छन् भन्न चाहिँ मिल्दैन। शारीरिक रुपमा फिट भएन भने पनि घाइते हुने सम्भावना छ। डाइट राम्रो भएन भने, अभ्यास राम्रोसँग भएन भने घाइते हुने सम्भावना रहन्छ।
महिला भलिबलकै कुरा गर्दा अभ्यास गर्दा होस्, या प्रतियोगिता खेल्दा केही कुराको कमी भएको महसुस हुन्छ?
अहिले त अभ्यास नै भएको छैन। ९-१० महिना भयो होला। नियमित अभ्यास नगर्दा पनि धेरै समस्या देखिन्छ। हामी केही समय एकदमै कडा अभ्यास गर्छौं, त्यसपछि लामो समय फेरि अभ्यास हुँदैन। यसले गर्दा पनि घाइते हुने सम्भावना प्रवल रहन्छ।
हामीलाई त १२ महिना नै अभ्यासमा राखिदियोस् भन्ने लागिरहन्छ। हामीलाई त जति धेरै अभ्यास गर्न पायो त्यति धेरै राम्रो हुने हो। अहिले हामीले ९ महिनादेखि अभ्यास गरेका छैनौं। पहिलेकै अवस्थामा फर्किन अब हामीलाई ५-६ महिना त लागिहाल्छ। त्यो भन्दा राम्रो हुनु त अझै धेरै समय लाग्छ।
सधैंभरि अभ्यासमा राख्न आर्थिक रुपमै समस्या हुन्छ। नेपाल भलिबल संघ, संघमा पैसा छैन भन्छ। सरकारले बजेट छुट्याएको हुँदैन। हेरौं अब छिट्टै अभ्यास सुरु होस्।
नेपाली भलिबलमा आफूलाई कतिको भाग्यमानी खेलाडी र कप्तान मान्नु हुन्छ?
अहिलेको समयलाई हेर्दा चाहिँ आफूलाई निकै भाग्यमानी मान्छु। यस्तो राम्रो टिममा कप्तानीको भूमिका निभाउन पाउनु मेरो लागि भाग्य हो। एकपछि अर्को ऐतिहासिक उपलब्धि पाउनु ठूलो कुरा हो। अहिले यो वर्षको उत्कृष्ट टिम भनेर अवार्ड पाउनु यो कुराहरु हेर्दा चाहिँ म भाग्यमानी हो भन्ने लाग्छ।
१३ औं सागमा भारतसँग एकदमै राम्रो खेल्यौं। अहिलेसम्म यस्तो प्रतिस्पर्धात्मक खेल भएको थिएन। भारतसँगको ३-२ सेटको हारले नेपाली महिला भलिबलको स्तर माथि उठेको छ है भन्ने पनि भयो। सागपछि संघले होस् या सरकारले भलिबलको विकासमा केही काम गरेको छ जस्तो लाग्छ?
छैन। जुन हाम्रो स्तर थियो। त्यो स्तरलाई हेर्ने हो भने अहिलेसम्मकै उत्कृष्ट हो। देखिरहेको कुरा छ। नतिजा पनि। महिला भलिबललाई जति गर्नु पर्ने हो संघ र सरकारले त्यो देखिरहेको छैन। हुन त यो संकटको कारण पनि होला। खेलकै विकासका निम्ति पछिल्लो समयमा केही गरेको जस्तो लाग्दैन।
नेपालमा भलिबलबाहेक अरु खेललाई कसरी नियाल्नु हुन्छ? नेपाली खेलकुदमा धेरैका लागि अझै पनि खेलेर बाँच्ने आधार देखिँदैन, तपाईंको नजरमा चाहिँ नेपाली खेलकुद कस्तो अवस्थामा छ?
धेरैले खेलकुदमा के हुन्छ र? भनेर सोच्नु हुन्छ। तर म चाहिँ के भन्छु भने केही पाउँछु भनेर लागेको होइन म। सन्तुष्टिको लागि खेलिरहेको छु। देशको लागि केही गरौं भनेर खेलिरहेको छु। त्यही भएर अरुको सोच र मेरो सोचमा फरक छ जस्तो लाग्छ। म आफ्नो खुसीको लागि खेल्छु। अरुले चाहिँ खेलेर केही हुँदैन, किन खेल्नु भनेको सुन्छु।
खेलाडी भएरै मात्र खुसी जीवन बिताउन सकिने अवस्था छ?
खेलाडी भएरै मात्र जिन्दगी चल्न चाहिँ निकै गाह्रो छ। नेपालमा अझै पनि खेलाडीले खेलेरै बाँच्ने माहोल सिर्जना भइसकेको छैन। एक-दुई जना खेलाडीले राम्रो गर्नु भएको छ। उहाँहरुको जिन्दगी राम्रो छ। तर सबैको त्यस्तो छैन। धेरै खेलाडीहरु विभागीय टिममा अनुबन्धित भएर खेलिरहनु भएको छ। उहाँहरुले आफ्नो खेल जीवन चलाई रहनु भएको छ। मेरो चाहिँ छुट्टै छ। म कुनै विभागीय टिममा छैन। आर्थिक समस्या त आइहाल्छ।
खेल जीवनकै यात्रामा प्रतियोगिता खेल्दै गर्दा होस् या अभ्यासकै दौरानमा त्यस्तो कुनै आर्थिक समस्या आएको छ?
सुरुवातका दिनमा त निकै गाह्रो थियो। जुत्तादेखि जर्सीकै अभाव हुन्थ्यो। अहिले चाहिँ मेहेनत गर्दै जाँदा राम्रै भएको छ। तर त्यस्तो राम्रो पनि होइन।
एथ्लेटिक्सकी खेलाडी सन्तोषी श्रेष्ठले स्पेसल अवार्ड जित्दै गर्दा यो अवार्ड विभाग बाहिरका खेलाडीलाई पनि समर्पित गर्न चाहन्छु भनेकी थिइन्। नेपालको परिप्रेक्षमा विभाग बाहिरबाट खेल्दा खेलमै टिकिरहन गाह्रो छ?
मलाई चाहिँ पश्चिमाञ्चलका दाइहरुले साथ र सहयोग गरिरहनु भएको छ। त्यही भएर मलाई चाहिँ त्यति गाह्रो महसुस भएको छैन। तर विभाग बाहिरबाट खेल्न चाहिँ निकै गाह्रो हुन्छ।
जस्तो अभ्यासकै क्रममा जुत्तादेखि जर्सी, ट्रयाक सुटको व्यवस्था गर्न पनि गाह्रो हुन्छ। भलिबलमा मध्यम वर्गका साथीहरु धेरै छौं। त्यसैले सबै सामग्री आफैले जुटाएर खेल्न पक्कै पनि गाह्रो त भइहाल्छ।
तपाईं टिम कप्तानसमेत भइसक्नु भयो। भलिबलमै हो जिन्दगी भन्ने देखिन्छ। एउटा उचाइमा पुगिसक्नु भएको छ, अब त तपाईंलाई प्रश्नहरु नउठ्ला। तर भलिबलमा लागिरहेका अरुलाई त अझै पनि भलिबल खेलिरहने कि छोड्ने भनेर प्रश्न त उठ्छ होला नि?
उठ्छ किन नउठ्नु। मलाई पनि उठ्छ। म कप्तान नै भए पनि अहिलेसम्म आर्थिक रुपमा साथ त छैन नि त। म कुनै क्लबहरुमा पनि आबद्ध छैन। म त आफ्नै बलबुताले खेलिरहेको छु।
घरबाट पनि कुरा आइरहेको हुन्छ। त कहिलेसम्म यसरी टिकिरहन्छस्? कहिलेसम्म खेल्छस्? भन्ने कुरा आइरहेको हुन्छ भने अरु बहिनीहरुलाई नआउने कुरै हुँदैन। म के भन्छु भने खेलसँगै पढाइलाई राम्रो गरेर विभागीय टिममा जाँदा पनि राम्रो हुन्छ। आफ्नो जिन्दगी त चलाइराख्नु पर्यो नि त। आफ्नो करिअर राम्रो बनाउन विभागीय टिममा जाँदा राम्रो हुन्छ होला।
कप्तानको रुपमा नेपाली महिला भलिबलको यात्रा कहाँसम्मको देख्नुहुन्छ?
हामीले भन्दा पनि यो चाहिँ संघले निर्धारण गर्ने कुरा हो। हामीले सोचेर मात्रै हुने कुरा होइन। हाम्रो त ओलम्पिक खेल्न सोच हुन्छ नि। ओलम्पिक खेल्ने सपना हरेक खेलाडीको हुन्छ।
हाम्रो घरेलु संरचना शून्य छ। खेलाडी उत्पादन गर्ने थलो भनेकै स्कुल र कलेजहरु हुन्। भलिबलकै लागि भनेर एकेडेमी छैनन्। अब अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी लगायतका खेलाडीको पुस्तापछि हामीसँग खेलाडी हामीसँग छ त? तपाईंलाई के लाग्छ?
पहिले पोखरामा स्कुलहरुले एकदमै राम्रो खेलाडी उत्पादन गर्थ्याे। हाम्रो ग्रासरुट भनेकै स्कुल हो। मलाई चाहिँ के लाग्छ भने स्कुलहरुलाई प्राथमिकतामा राख्यो भने राम्रा खेलाडी अझै पनि उत्पादन हुन्छ।
तर अहिले चाहिँ स्कुलहरुलाई प्राथमिकतामा राखेकै छैन। प्रतियोगिता गर्दा पनि क्लबको मात्रै गरिदिने। स्पोन्सर खोज्न पनि सजिलो। खेलाडी राम्रो भएपछि दर्शक पनि उल्लेख्य हुने त्यही भएर अहिले स्कुल लेभलमा प्रतियोगिता नै भएको छैन।
अब स्कुलहरुमा फेरि पनि भलिबलको माहोल फर्काउन संघले विभिन्न सामग्री दिएर हुन्छ कि या केही कार्यक्रम गरेर हुन्छ। स्कुलमा भलिबललाई राम्रो गर्नै पर्छ। हाम्रो ग्रास रुट भनेकै स्कुल हो। हाम्रो जहाँ पनि प्रतियोगिता हुन्छ ५-६ वटा टिमकै मात्र हुन्छ। स्थानीयस्तरबाट खेलाडी खोजी भएकै छैन।
अबको योजना के छ त?
एसियन गेम्सकै लागि म केन्द्रित भइरहेको छु। कसरी राम्रो गर्ने भन्ने नै छ।
भिडियोमा हेर्नुहोस्,
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।