सोलुखुम्बु–सोलुखुम्बुको दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भीरमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर गाडी दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए।
दुर्घटनामा हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ। दूधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर भीरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट) निर्माणमा प्रयोग भएका सामग्री निर्माणाधीन (८६ मेगावाट) दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि उक्त गाडी सल्यानतर्फ किन लागेको हो भन्ने कारण भने खुल्न सकेको छैन।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।