झापा–सरकारले २०७७ वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेसँगै झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन सुरु गरेको हो।
समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक तथा प्रजिअ तिम्सिनाले बताए। समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकारी, पालिकाका प्रमुख छन्।
उनले विगतमा झापामा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकामा यस पटक केही थप हुने बताए। विगतमा एउटै मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र हुने गरे पनि यस पटक सातभन्दा बढी राख्न नमिल्ने उनको भनाइ थियो।
सबै पालिकाका मतदातालाई सहज हुने गरी मतदान स्थल र मतदान केन्द्र थपका लागि केन्द्रमा सिफारिस गरिने प्रजिअ तिम्सिनाले बताए। मतदान स्थल र केन्द्र थपका लागि राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको उनको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।