काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ।
आयोगमा भएको छलफलमा निर्वाचनको मिति तोकेपछि आयोगले गरिरहेको कामकारबाही, आन्तरिक तयारी, मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र मतदान केन्द्र पुनरवलोकन कार्यक्रमको बारेमा राजनीतिक दलहरूलाई जानकारी गराइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार छलफलमा आयोगले दलहरूलाई निर्वाचन कार्यक्रममा सहभागी हुन र दलका तर्फबाट निर्वाचनका विषयमा नागरिकलाई सुसूचित गराउन आग्रह पनि गरेको छ।
'आयोगले अहिले गरिरहेका र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा उहाँहरूलाई जानकारी गराउने काम भएको छ,' उनले भने, 'सो क्रममा उहाँहरूसँग सुझाव पनि लिने काम भएको छ। आयोगले उहाँहरूलाई निर्वाचन कार्यक्रममा सहभागी हुन र आम नागरिकलाई सुसुचित गराउन पनि आग्रह गरेको छ।'
छलफलमा सहभागी भएकामध्ये नेकपा प्रचण्ड-नेपाल समूहका राजेन्द्र पाण्डेले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनको मुद्दा चलिरहेकाले निर्वाचनको प्रक्रिया अगाडि बढाउन नहुने प्रतिक्रिया दिएका थिए। उनले वैशाखमा चुनाव नहुने भन्दै आयोगले निर्वचानका काम रोक्नुपर्ने बताए।
'प्रतिनिधि सभा विघटन बारे अदालतमा मुद्दा विचाराधीन रहेको अहिलेको अवस्थामा चुनाव हुन सक्दैन। ओली सरकारले चुनाव गर्ने नियत नै राखेका छैनन्। त्यसकारण आयोगले निर्वचानको काम अगाडि बढाउनु हुँदैन,' उनले भने। उनले चुनावमा भाग लिन सक्ने अवस्था नरहेको विषय पनि आयोगमा उठाएका छन्।
छलफलमा सहभागी नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफूहरू रहेको बताए।
निर्वाचन आयोगले कुनै पनि समय निर्वाचन गराउन तयार रहनुपर्ने भन्दै उनले सर्वोच्च अदालतले प्रतिनिधि पुनर्स्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जानको लागि नेपाली कांग्रेस तयार रहेको उनको भनाइ छ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।