फाइल फोटो
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध 'शाकाहारी' आन्दोलनले नपुग्ने बताएका छन्।
आफू निकट विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलामा सम्बोधन गर्दै उनले भने- 'शाकाहारी आन्दोलनलाई त ओलीले गन्नेवाला नै छैनन्। त्यस्तो त हामीले पार्टीमा कति गरियो, गरियो।'
प्रचण्डले विद्यार्थीहरुलाई आफूहरुको आन्दोलन आवेगमय हुनुपर्ने बताए। 'अलि जुझारु हुनुपर्यो। अलि आक्रामक हुनुपर्यो। बाघ र सिंह गर्जिएजस्तो हुनुपर्यो। प्रतिक्रान्तिकारीहरुको मुटु थर्किनुपर्यो, हल्लिनुपर्यो', उनले भने, '९ गते हामी सशक्त रुपमा जाने सोचेका छौं। आन्दोलनको अग्रपंक्तिमा हामी हुन्छौं। हिजो गिरिजाबाबु, माधव नेपाल र झलनाथहरुले लाठी खाएजस्तै मेरो टाउको चिलाइरहेको छ। मलाई लाठी खान मन छ यसपटक।'
प्रचण्डले विद्यार्थीहरुको टाउको जोगाउनका लागि आफ्नो टाउको फुटाउन तयार रहेको बताए। 'प्रतिगामीहरुको षडयन्त्रलाई सफल हुन दिइँदैन', उनले भने।
उनले नेपाललाई निरंकुशतामा पुर्याउने डरलाग्दो षडयन्त्र भइरहेको बताए। 'एउटा शब्द खुब सुनिन्छ आजभोलि- सेटिङ। यो डरलाग्दो शब्द छ अहिले। केपीका मान्छेले भन्दै हिँडेका छन्', उनले अगाडि भने, 'म अदालतमाथि शंका गर्न चाहन्न तर ओलीको सेटिङलाई शंका गर्न पाइयो नि। हामी निर्वाचन आयोगलाई शंका गर्न चाहँदैनौं। तर ओली र ओलीको निकटका मान्छेले सेटिङ भइसक्यो भन्दै हिँडेकोलाई त शंका गर्न पाइयो नि।'
प्रचण्डले केपी ओलीमा लाज बाँकी नरहेको बताए। 'मान्छे भएपछि लाज लाग्नुपर्छ। तर केपीजीलाई लाज छैन। नांगै छन् तर हाँसिरहेका छन्', उनले भने, 'तपाईं हामी नांगै भयौं भने हाँस्न सकिन्छ त? तर कस्तो मान्छे- केपीजी त हाँसिरहनुभएको पो छ। देश बर्बाद भइरहेको छ, आगो लागिरहेको छ, डढेलो सल्किरहेको छ। तर उहाँ हाँसिरहनुभएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।