फाइल तस्बिर
काठमाडौं- अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको बताएका छन्। शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गर्दै उक्त कुरा बताएका हुन्।
प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले बताए।
अन्तिम निर्णयकर्ता जनता हुने भएकाले सरकारले जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय गरेको उनको दाबी छ। 'आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्छ। निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ,' उनले भने।
मन्त्री पौडेलले सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको जानकारी दिए। विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई कोभिड विरुद्दको भ्याक्सिन निशुल्क रुपमा उपलब्ध गराउने उनको भनाइ छ।
कोभिड-१९ विरुद्धको भ्याक्सिन आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको उनले बताए। मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेको प्रबन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्र्तराष्ट्रिय दातृ निकायहरुले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको भएपनि देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल गर्ने नगरिएको स्पष्ट पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।