नयाँ दिल्ली- भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ। कृषिसम्बन्धी तीन नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए।
सरकारी प्रतिनिधि र किसानका प्रतिनिधिबीच शुक्रबारसम्म नवौं पटक वार्ता भएपनि सहमति हुन नसकेको हो। शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ।
किसानहरुको मागप्रति सरकारी पक्ष धेरै नै लचक हुँदा पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ।
आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीनवटै कानुन खारेज गर्न आफूहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताए।
‘आज कुनै सहमति हुन सकेन, त्यसैले हामी फेरि यही जनवरी १९ तारिखको मध्याह्न १२ बजे भेट्नेगरी छुट्टिएका छौँ,’ शुक्रबार उनले भने।
भारतमा कृषिसम्बन्धी तीन कानुनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न ठाउँका साथै केन्द्रीय राजधानी नयाँ दिल्लीसमेतमा किसानहरुले बृहत् प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।