फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टीको कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो।
प्रतिनिधि सभा विघटनपछि आन्दोलनमा होमिएको यो पक्षले आन्दोलनको समीक्षा गर्ने बताइएको छ। यसका साथै सांगठनिक एकताका विषयमा पनि छलफल हुने बैठक सुरु हुनुअघि प्रचण्ड-नेपाल पक्षका एक जना स्थायी कमिटी सदस्यले जानकारी दिएका थिए।
स्थायी कमिटी बैठक सुरु हुनु भन्दा केही समय मात्रअघि राजधानीमा आयोजित 'प्रतिनिधि सभा विघटन : प्रतिगामी कदम' विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै माधवकुमार नेपालले ओलीलाई थप कारबाही बारे छलफल हुन सक्ने संकेत गरेका थिए।
'उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिँड्नुभएको छ। अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ, अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ। आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्नेछ,' उनले भनेका थिए।
दुई भागमा विभाजन हुनुअघिको नेकपाका ४५ जना स्थायी कमिटी सदस्यमध्ये प्रचण्ड-नेपाल पक्षमा २८ जना छन्।
यस्तै, ओली पक्षका १६ जना स्थायी कमिटी सदस्यको बैठकसमेत बिहीबार बिहान ११ बजेदेखि बालुवाटारमा जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।