काठमाडौं- २०२० मा भारतीय कार बजार समग्रमा उत्साहजनक देखिएन। २०१९ मा भारतमा २९ लाख ३६ हजार ६ सय २६ प्यासेन्जर कार बिक्री भएकोमा २०२० मा २४ लाख २७ हजार ८ सय ८३ वटामात्र बिक्री भएको छ। प्यासेन्जर कार बिक्री खुम्चँदा पनि किया, टाटा र एमजी (मोरिस ग्यारेज)को बिक्री भने बढेको छ।
२०१९ मा भारतमा ४५ हजार कार बिक्री गरेको कियाले २०२० मा १ लाख ४० हजार ५ सय ५ वटा कार बिक्री गर्न सफल भएको छ। २०२० मा कियाको वार्षिक बिक्री वृद्धि २ सय ८.८ प्रतिशत देखिएको छ। २०१९ मा १.५ प्रतिशत बजार हिस्सा रहेको कियाले २०२० मा बढाएर ५.८ प्रतिशत पुर्याएको छ।
त्यस्तै एमजीको वार्षिक बिक्री वृद्धि ७६.८ प्रतिशत देखिएको छ। २०१९ मा १५ हजार ९ सय ३० वटा कार बिक्री गरेको एमजीले २०२० मा २८ हजार १ सय ६२ वटा कार बिक्री गरेको छ। २०१९ मा ०.५ प्रतिशत बजार हिस्सा रहेको एमजीले २०२० मा १.२ प्रतिशत पुर्याएको छ।
भारतीय कार उत्पादक टाटाको प्यासेन्जर कार बिक्री पनि २०२० मा सकारात्मक नै रहेको छ। २०१९ मा १ लाख ५२ हजार ९ सय ४४ वटा कार बिक्री गरेको टाटाले २०२० मा १ लाख ७० हजार १ सय ५१ वटा कार बिक्री गर्न सफल भएको छ। योसँगै २०१९ मा ७ प्रतिशत रहेको कारको बजार हिस्सा २०२० मा ११.३ प्रतिशत पुर्याएको छ।
भारतको प्यासेन्जर कार बजारमा सबैभन्दा धेरै बजार हिस्सा रहेको मारुती सुजुकीले २०१९ मा १४ लाख ८५ हजार ९ सय ४३ वटा कार बिक्री गरेकोमा २०२० मा त्यो १८.३ प्रतिशतले घटेर १२ लाख १३ हजार ६ सय ६० मा सीमित भएको छ। यद्यपि समग्र कार बजारमा मारुती सुजुकीको बजार हिस्सा ५० प्रतिशत नै रहेको छ।
यसैगरी २०१९ मा ५ लाख १० हजार २ सय ६० वटा कार बिक्री गरेको हुन्डाईले २०२० मा ४ लाख २३ हजार ६ सय ४२ वटा कार बिक्री गरेको हो। समग्रमा प्यासेन्जर कारमा हुन्डाईको बजार हिस्सा १७ प्रतिशत छ, जुन अघिल्लो वर्षपनि समान १७ प्रतिशत नै थियो।
महिन्द्राले २०१९ मा २ लाख १९ हजार ६ सय ८२ वटा कार बिक्री गरेकोमा २०२० मा ३७.९ प्रतिशतले घटेर १ लाख ३६ हजार ५ सयमा सीमित भएको छ। त्यस्तै रेनोले २०१९ मा ८८ हजार ८ सय ७९ वटा कार बिक्री गरेकोमा २०२० मा ८० हजार ५ सय ११, टोयोटाले २०१९ मा १ लाख २६ हजार ७ सय १ वटा कार बिक्री गरेकोमा २०२० मा ७६ हजार १ सय ११ वटा, होन्डाले २०१९ मा १ लाख ३४ हजार १ सय ४१ वटा बिक्री गरेकोमा २०२० मा ७० हजार ५ सय ९३ वटामात्र कार बिक्री गरेको तथ्यांक अटोपण्डितले लेखेको छ।
फोर्डले २०१९ मा ७३ हजार ६ सय ३६ कार बिक्री गरेकोमा २०२० मा ४५ हजार ७ सय ९९ वटा, फक्सवागनले २०१९ मा ३२ हजार ३ सय २४ वटा कार बिक्री गरेकोमा २०२० मा १५ हजार ७ सय ७१ वटा कार बिक्री गरेको तथ्यांक छ। त्यस्तै स्कोडाले २०१९ मा १५ हजार २ सय ८४ वटा कार बिक्री गरेकोमा २०२० मा ११ हजार ३ सय ७२ वटा, निसानले २०१९ मा २३ हजार ५ सय ८० वटा कार बिक्री गरेकोमा २०२० मा ९ हजार ८ सय ७३ वटा र फियाटले २०१९ मा ११ हजार २ सय ३८ वटा कार बिक्री गरेकोमा २०२० मा ५ हजार २ सय २६ वटा कार बिक्री गरेको छ।
प्यासेन्जर कारको तथ्यांकमा विलाशी कारहरुको तथ्यांक भने समावेश गरिएको छैन। विलाशी कारहरुमा मर्सिडिज, बिएमडब्लू, अउडी, ज्यागुअर ल्यान्ड रोभरलगायत गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।