काठमाडौं- नेपालमा मूल्यवृद्धि दर दुई दशकयताकै कम देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको वित्तीय तथा आर्थिक स्थिति अनुसार मुद्रास्फीति २.९३ प्रतिशत रहेको छ। सन् २००२ मा नेपालको मूल्य वृद्धिदर २.९ प्रतिशत थियो। त्यसयता नेपालमा २.९३ प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुँदै आएको थियो।
अघिल्लो वर्षको मंसिर महिनामा यस्तो मुद्रास्फीति ६.५५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति १.१६ प्रतिशत रहेको छ।
मंसिरमा फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः १४.७५ प्रतिशत, १३.०१ प्रतिशत, ११.४४ प्रतिशत र १०.७४ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.७१ प्रतिशत, तराईमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७६ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ७.६० प्रतिशत, ६.६६ प्रतिशत, ५.२७ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो।
मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.४६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.९८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १३.३३ प्रतिशत र ३.२६ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ०.६० प्रतिशतले घटेको छ।
समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६४ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।