काठमाडौं- नागरिक अगुवाहरूले ‘प्रतिनिधि सभा विघटनको निर्णय नसच्चिएसम्म प्रतिगमन’विरुद्धको आन्दोलनमा जारी राख्ने प्रतिबद्धता गरेका छन्। प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनलाई राजनीतिक दलले बीचमै छोड्न सक्ने आशंका गर्दै उनीहरूले आफूहरूको आन्दोलन प्रतिगमन नसच्चिएसम्म जारी राख्ने बताएका हुन्।
प्रतिनिधि सभाको पुर्नबहाली तत्कालीन लक्ष्य भएको जनाउँदै नागरिक अभियन्ताहरूले आन्दोलनलाई निष्कर्षमा पुर्याएरै छोड्ने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि निरन्तर सडक आन्दोलन गरिरहेका अभियन्ताले मंगलबार पहिलो नागरिक सभा गरेका छन्। त्यस अघि पुस ११ देखि १८ सम्म माइतीघरमा चरणबद्ध सडक प्रर्दशन गरिएको थियो।
कमलादीस्थित प्रज्ञा भवनको डबलीमा भएको नागरिक सभामा फरक-फरक क्षेत्रका नागरिक अगुवाले सरकारको प्रतिगामी कदम विरुद्धको आन्दोलनलाई निरन्तरता दिने जनाएका छन्। मन्तव्य र नाटकीय प्रस्तुती मार्फत प्रतिनिधि सभा विघटनप्रति नागरिकले शासकप्रति रोष प्रकट गरे।
महिला हिंसाविरुद्ध ‘तँ बलात्कारी होस्’मार्फत चर्चामा आएका युवतीहरुको टोलीले प्रतिनिधि सभा विघटनविरुद्ध सामूहिक आवाज निकालेका थिए। २५ जनाभन्दा बढी युवतीहरूको समूहले प्रतिनिधि सभा विघटनको विरुद्ध नारा समेत लगाएका थिए।
उनीहरूले लगाएको मास्कमा ‘असंवैधानिक’ लेखिएको थियो। मास्क मार्फत प्रतिनिधि सभा विघटन असंवैधानिक भएको उनीहरुको जिकिर थियो।
हरेक क्षेत्रमा महिला सहभागिता कम रहेको विद्यमान परिस्थितिमा महिलाले पनि राजनीतिमा चासो राख्छन् भनी सन्देश दिन खोजिएको थियो। ‘वुमन अन पोलिटिक्स’ अंकित टि शर्ट लगाएर उनीहरुले सुशासन हराएको आवाज निकाले। शासक निरंकुश भएको उनीहरुको ठम्याई छ।

नारामार्फत् उनीहरुले जनता संकटमा रहेको बेला प्रधानमन्त्री ओली गफमा मस्त रहेको भन्दै चिन्ता प्रकट गरे। प्रधानमन्त्री ओली कानुनमाथि रहेको तथा न्यायालयले समयमै फैसला नगरिएको प्रति उनीहरुको असन्तुष्टि थियो। सरकारलाई जवाफदेही नभएको प्रति रोष प्रकट गर्दै नारा लगाएः
१. जनता रोगले ग्रस्त छन्।
ओली गफमा मस्त छन्।।
२. कानुन माथि को रैछ।
केपी ओली बोरै छन्।।
३. संविधानलाई कुल्चेर।
नैतिकतालाई बिर्सेर।।
४. न्याय मार्न पाइँदैन।
मुर्दा सरकार चाहिँदैन।।
५.ओलीको बोलीले पोलेको।
सर्वोच्च खै बोलेको।।
६. न्यायालय के गर्दैछौं?
के जोखना हेर्दैछौं?
विरोध सभामा विभिन्न क्षेत्रका नागरिक अगुवाले प्रतिनिधि सभा विघटन संविधानभन्दा बाहिरबाट भएको जिकिर गरे। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्रीको कदमले संघीयता र धर्म निरपेक्षताका विरोधीहरू मात्रै खुसी भएको बताए। प्रधानमन्त्रीले इजालास गठनको विषयमा अदालतलाई अवहेलना गर्न खोजेको आरोप उनको थियो।
नागरिक अगुवा डा देवेन्द्रराज कँडेल र कवि दुर्गालाल श्रेष्ठ भौतिक रुपमा उपस्थित नभएपनि वक्तव्य र कवितामार्फत् नागरिक आन्दोलनको साथमा रहेको बताए।
अपांग नागरिकबाट अगुवाई गरेका भोजराज श्रेष्ठले प्रतिगमन विरुद्ध फेरि एकजुट हुन आग्रह गरे। उपत्यका सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठले प्रतिगमन राजनीतिमा मात्रै नहुने प्रष्टाइन्। विकासका नाममा विनाश गरेर उपत्यकावासीको परम्परा, संस्कृति माथि सत्ताले प्रतिगमनकारी कदम चालिरहेको उनको आरोप थियो।

जनजाति समुदायका अगुवा डा मुक्तसिंह तामाङले प्रधानमन्त्री ओलीलाई विगतमा अनावश्यक महत्व दिएकै कारण प्रतिगमन भएको ठोकुवा गरे। राष्ट्रवादी नेताका रुपमा ओलीको गुणगान विगतमा गाएकै कारण उनमा आफूप्रति घमण्ड बढेको उनले बताए। नागरिक अभियन्ता सिएन थारुले प्रगिगमनलाई सच्याउन सक्ने शक्ति नागरिक मात्रै भएको दाबी गरे।
नागरिक आन्दोलनका संयोजनकर्ता युग पाठकले मुलुक सेटिङमा चलेको आभास भएको भन्दै आन्दोलन निरन्तर चल्ने विश्वास दिलाए। नागरिक सभामा ‘प्रतिगमन’ विरुद्ध शिल्पी थियटरले नाटक प्रर्दशन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।