न्यूयोर्क- अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई हटाउने प्रस्ताव अघि बढेसँगै आगामी दिनहरुमा राष्ट्रपति ट्रम्पका समर्थकहरुले हतियारसहित हिंसात्मक प्रर्दशनको तयारी गरेको चेतावनी दिएको छ।
राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा हतियारसहित प्रदर्शनको तयारी भइरहेको सूचना प्राप्त भएको एफबिआईले उल्लेख गरेको छ।
जनवरी २० मा हुने शपथग्रहण समारोहलाई प्रभावित पार्नका लागि ५० वटै राज्यका राजधानी तथा वासिङ्गटन डिसीमा भेला हुने तयारीमा हतियारधारी समूह रहेको जानकारी प्राप्त भएको एफबिआईलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।
शपथग्रह समारोहलाई सुरक्षित पार्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको भए पनि चिन्ता थपिएको छ।
सोमबार राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले क्यापिटल हिल (संसद भवन) बाहिर राष्ट्रपतिको शपथ लिन आफू नडराएको बताएका छन्।
अहिलेसम्म राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले क्यापिटल हिल बाहिर हुने विशेष कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।