काठमाडौं- नेपाल राष्ट्र बैंकले नेपालको नयाँ नक्सा अंकित २ रुपैयाँको सिक्का छाप्न बोलपत्र आह्वान गरेको छ। बैंकले १० लाख थान २ रुपैयाँको सिक्का छाप्नका लागि बोलपत्र आह्वान गरेको हो।
बैंकले डिजाइनिङ, मिन्टिङ, सप्लाई र डेलिभरीसमेत गर्नु पर्ने गरी प्रस्ताव माग गरेको हो। योग्य आवेदकले माघ २७ गतेसम्ममा आवेदन दिन सक्ने जानकारी राष्ट्र बैंकले गराएको छ। राष्ट्र बैंकले अधिकतम ९० लाख रुपैयाँको सीमा नकट्ने गरी बोलपत्र आह्वान गरेको हो।
नेपाल राष्ट्र बैंकले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा अंकित एक र दुई रुपैयाँको सिक्का छाप्नका लागि तयारी गरेको थियो। यसै क्रममा सोमबार बैंकले दुई रुपैयाँको सिक्का छाप्नका लागि बोलकबोल आह्वान गरेको हो।
गत भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले एक र दुई रुपैयाँको सिक्का टकमरी गरी चलनचल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको थियो। सिक्कामा लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा थप हुनेछ।
नेपालमै सिक्का छाप्ने मेसिन भए पनि धेरै संख्यामा छाप्नु पर्दा विदेश पठाउने गरिएको छ। टक्सार विभागले टकमरी, चाँदीका सिक्का छाप्ने गरेको भएपनि यो सिक्का धेरै संख्यामा भएकाले नेपालमा भन्दा विदेशमा छाप्दा सस्तो पर्ने राष्ट्र बैंकको तर्क छ।
नेपाल सरकारले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्का सार्वजनिक गरेसँगै चिनोको रुपमा सिक्का पनि छाप्ने तयारी गरेको हो। पछिल्लो समय सिक्काको प्रचलन घट्दै गैरहेको छ। यस्ता सिक्का छाप्न महंगो पर्ने तथा व्यवस्थापन गर्न पनि गाह्रो हुने भएकाले राष्ट्र बैंकले सिक्का छपाइमा खासै महत्व दिने गरेको छैन।
डिजिटल कारोबारलाई जोड दिँदै आएको राष्ट्र बैंकले मुद्राको प्रयोगलाई कम गराउदै लैजाने रणनीति लिएको छ। कागजी नोटको प्रचलन अधिक भएपनि सिक्काको प्रयोग कम हुँदै गएको छ। तर सरकारले चिनोका लागि भन्दै यति धेरै परिणाममा सिक्का छाप्ने निर्देशन दिएपछि सिक्का जारी गर्ने तयारी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।