काठमाडौं- अमेरिकी स्मार्ट फोन उत्पादक कम्पनी एप्पल इंक र कोरियाली कार उत्पादक कम्पनी हुन्डाईबीच संयुक्त रूपमा कार उत्पादन गर्ने प्रारम्भिक सहमती भएको छ। दुई कम्पनीले संयुक्त रुपमा उत्पादन गर्ने कार स्वचालित विद्युतीय कार हुनेछ।
एप्पलले सवारीका लागि ब्याट्रीको नयाँ प्रविधिमा काम गरिरहेको र हुन्डाईले विद्यतीय कार उत्पादन गरिरहेको छ। नयाँ चरणमा दुवैले स्वचालित विद्युतीय सवारी उत्पादनमा मिलेर काम गर्ने भएका हुन्। सहकार्यका लागि आउँदो मार्चमा यी दुई कम्पनीबीच औपचारिक सम्झौता हुने द इकोनोमिक टाइम्सले लेखेको छ।
तीन वर्षभित्रै (सन् २०२४ अघि नै) यी कम्पनीले विद्युतीय स्वचालित कार उत्पादन सुरु गर्ने योजना बनाएका छन्। हुन्डाई र एप्पलबीच सन् २०२७ देखि ’सेल्फ ड्राइभिङ कार’ सार्वजनिक गर्ने योजना छ। यी गाडीको उत्पादनका लागि कम्पनीले आफ्नै लगानीमा नयाँ उद्योग संचालनमा ल्याउने अथवा जर्जियास्थित किया मोटर्सको फ्याक्ट्रीबाट उत्पादन गर्ने भन्ने दुई कम्पनीबीच छलफल चलिरहेको छ।
सन् २०२४ मै एक लाख वटा स्वचालित विद्युतीय गाडी उत्पादन गर्ने योजना बनाएका दुई कम्पनीले वार्षिक चार लाख कार उत्पादन हुने प्लान्टको प्रस्ताव गरेका छन्। नयाँ कम्पनीमा हुन्डाईको करिब २० प्रतिशत सेयर हुने र बाँकी एप्पलको हुने विभिन्न सञ्चार माध्यमहरुले लेखेका छन्।
एप्पलले पछिल्लो समय ब्याट्रीको नयाँ प्रविधिका लागि ठूलो लगानी गरि अध्ययन गरिरहेको छ। पेसेन्जर भेहिकल सेग्मेन्टअन्तर्गत स्वचालित विद्युतीय कार उत्पादन गर्ने योजना बनाएको एप्पलले सन् २०२४ अगाडि नै ब्याट्री टेक्नोलोजी आविष्कार गर्ने र नयाँ कारमा त्यही ब्याट्री प्रयोग गर्ने दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।