काठमाडौं- गृहमन्त्री रामबहादुर थापा 'बादल'ले वैसाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
नेपाल प्रहरीमा वरिष्ठ प्रहरी उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका अधिकृतहरूलाई गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।
'तपाईंहरूकाे क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेकाे छ। त्याे विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्,' उनले भने, 'तपाईंहरूकाे काँधमा एकातर्फ निर्वाचनकाे लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलन नियन्त्रण गर्ने दायित्व आएको छ। लोकतन्त्रमा विरोध, प्रदर्शन गर्न पाइन्छ तर शान्ति, सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरी प्रदर्शन गर्न पाइँदैन।'
पछिल्लो समय सुरक्षा चुनाैती बढेकाे बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा याेजना बनाउन उनको निर्देशन छ। 'तपाईंहरुलाई कुनै कठिनाई आइपरे गृह मन्त्रालय तपाईंहरुकाे साथ हुनेछ,' उनले भने।
कार्यक्रममा गृहसचिव महेश्वर न्याैपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।