काठमाडौं- सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गत आर्थिक वर्ष २०७६/७७ मा तलब भत्ता तथा अन्य सुविधाबापत एक करोड ५४ लाख रुपैयाँ बुझेका छन्। उनले तलब मात्रै ७५ लाख ६० हजार रुपैयाँ प्राप्त गरेका गौतमले दसैँ खर्चबापत १० लाख ५० हजार रुपैयाँ पाएका हुन्।
गौतमले अन्य विभिन्न सुविधाबापत ५० लाख ४० हजार रुपैयाँ लिएका छन्। यसबाहेक उनले नियम अनुसार बोनस प्राप्त गर्छन्।
त्यस्तै सञ्चालकहरुले बैठक भत्ता बापत ३० लाख ६ हजार रुपैयाँ प्राप्त गरेका छन्। सञ्चालकहरुले टेलिफोन मोबाइल तथा पत्रपत्रिका खर्चका लागि भन्दै ९ लाख ५८ हजार रुपैयाँ बुझेका छन्। यसबाहेक विभिन्न बहानामा उनीहरूका लागि बैंकले ३९ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ।
सबैभन्दा कान्छो वाणिज्य बैंक मानिने सेञ्चुरीले पुस २९ गते १०औँ वार्षिक साधराणसभा बोलाएको छ। साधारणसभामा सेयरधनीहरुलाई भर्चुअल माध्यमबाट उपस्थित गराउने भएको छ।
बैंकले नवौ वार्षिक साधारणसभामा पेस गर्ने भन्दै ४.७५ प्रतिशत लाभांश घोषणा गरेको छ। उक्त लाभांश मध्ये तीन प्रतिशत अग्रिम रुपमा वितरण गरिसकेको बताइएको छ। बैंकले एकैपटक नवौँ र दशैँ वार्षिक साधारणसभा सम्पन्न गर्नेछ।
नवौँ वार्षिक साधारणसभामा प्रस्तावित लाभांशमध्ये बाँकी रहेको २.२५ प्रतिशत अनुमोदन गर्ने प्रस्ताव साधारणसभामा लगिँदैछ।
त्यस्तै, दशौँ साधारणसभामा आर्थिक वर्ष २०७६/७ को मुनाफाबाट ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लगिँदै छ। साधारणसभामा संस्थापक सेयरधनी समूहबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।