काठमाडौं- दोस्रो बजारमा सबैभन्दा धेरै हिस्सा रहेको वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचकले दिनदिनै नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। आइतबार नेप्से सूचक ४१.२४ अंकले सुधार हुँदा दोस्रो बजार सर्वाधिक २२३५.७२ अंकमा पुगेको छ। वाणिज्य बैंकको सूचक ५९.६१ अंकले सुधार हुँदा समग्र दोस्रो बजारमै सुधार आएको हो।
केही समय अगाडि बीमा लगायत अन्य सूचकहरुमा उछाल आएको थियो। अहिले तिनै कम्पनीको शेयर किनेर वाणिज्य बैंकको शेयर किन्न थालेका हुन्। आइतबार जीवन बीमाको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ। बीमा कम्पनीको सूचक भने १७ अंकले घटेको छ। जम्मा २०७ वटा कम्पनीको ६ अर्ब३२ करोड रुपैयाँको कारोबार भएको छ।
आइतबार ११७ वटा कम्पनीको शेयर बढ्दा ५ वटाको अधिकतम बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ। बजार सुधार हुँदा पनि ४४ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ। पछिल्लो समय बैंकहरुको कर्जा शेयर बजारमा आउन थालेको छ। बैंकहरुले ६/७ प्रतिशतमै कर्जा दिने भएकाले दोस्रो बजारमा उछाल आएको जानकारहरु बताउछन्।
बैंकहरुले सजिलै शेयर धितोकर्जा दिइरहेका छन्। बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता छ। अझै कम्तिमा पनि ५/६ महिना बैंकको ब्याजदर बढ्नेवाला छैन। लगानीका नयाँ ढोका खुलेका पनि छैनन्। राजनीतिक अन्योलताका कारण सरकारले थप आर्थिक एजेन्डा ल्याउने अथवा सरकारले थप नयाँ कार्ययोजना ल्याएर कर्जा प्रवाह हुने अवस्था पनि नभएकाले लगानीकर्ताको सम्पुर्ण ध्यान सेयर बजारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।