काठमाडौं- नेपाल धितोपत्र बोर्डले शेयर किनबेच भएको दुई दिनभित्रै राफसाफ गर्न निर्देशन दिएको छ। बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट लाई एक दिन छोट्याएर 'टि प्लस टु' कायम गरेको छ। यसअघि 'टि प्लस थ्री'भित्र रासफाफ तथा फर्छ्यौटको व्यवस्था थियो।
बोर्डको नयाँ निर्देशनसँगै शेयर किनेपछि बाँकी दुई कार्यदिनभित्र राफसाफ तथा फर्छ्यौट हुनेछ। बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यसलाई कार्यान्वयनमा लाउने योजना बनाएको थियो। यसको कार्यान्वयन गर्ने क्रममा सिडिएस एण्ड क्लियरिङ लिमिटेडकको आफ्नो विनियमावलीमा भएको हालको व्यवस्था टि प्लस थ्रीलाई टि प्लस टूमा ल्याउने गरी संशोधन गर्न बोर्डले स्वीकृति दिएको छ। बोर्डको स्वीकृतिसँगै यो व्यवस्था आइतबारदेखि नै लागि हुने बोर्डले जनाएको छ।
यस व्यवस्थासँगै धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र छोटिई टी प्लस टु कायम भएसँगै धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डले जनाएको छ। पहिलाको व्यवस्थाका कारण लगानीकर्ताले शेयर किनेको कम्तिमा पनि ५ दिन शेयर बिक्री गर्न पाउँदैन थिए। यो व्यवस्थासँगै लगानीकर्ताले शेयर खरिद गरेको चार दिनमा बिक्री गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।