काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को काठमाडौं जिल्ला इन्चार्ज भिमसेन घिमिरे (विपिन) पक्राउ परेका छन्।
घिमिरेलाई विशेष ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । ब्यूरो स्रोतले नेपाल लाइभसँग भन्यो, ‘घिमिरेलाई हामीले पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं परिसर पठाएका छौं।’
लामो अनुसन्धानपछि बुधबार ब्यूरोको टोलीले घिमिरेलाई पक्राउ गरेको थियो। घिमिरेको पक्राउ भने प्रहरीले अहिलेसम्म गोप्य राखेको छ। स्रोतका अनुसार उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट चन्दा ऐन २०३० अन्तर्गतको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
उनीबाट चन्दा संकलनका रसिद, लेटरप्याड, डायरीलगायत बरामद भएको छ। यसअघि विशेष ब्यूरोले नै विप्लवका आर्थिक विभाग प्रमुख प्रेमबहादुर दर्नाल (विकल्प)लाई पक्राउ गरेको थियो। उनको साथबाट पनि चन्दा संकलनका थुप्रै रसिद बरामद भएका थिए। अदालतले रिहा हुने आदेश दिएपछि पुन पक्राउ पर्ने डरले प्रहरीलाई छक्याएर फरार भएका थिए। उनको खोजी भइरहे पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।