काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै राष्ट्रिय सभामा विरोध गरेका छन्। प्रधानमन्त्री ओलीसँग संसद् विघटनको विशेषाधिकार नभइ दायित्व मात्रै संविधानमा उल्लेख रहेको उनले बताए।
नेपालको संविधानकाे पुस्तक हातमा लिएर आफ्ना कुरा राखेका श्रेष्ठले संसद् विघटन सरकार बन्ने सबै विकल्प सकिएपछिको प्रधानमन्त्रीको दायित्व भएको सम्झाए। उनले भने, 'सरकार बन्ने विकल्प बाँकी रहँदै विघटन गर्नु असंवैधानिक छ। यो संविधानको धारा ७६ को उपधारा १, २, ३, ४, ५ ले विकल्प प्रदान गरेको छ। त्यहाँ विशेषाधिकार होइन, विघटन हुन सक्ने अवस्था उल्लेख गरेको छ।'
उनले प्रधानमन्त्रीकाे तर्क मृत्युपछि पाउने सम्पत्तिसँग तुलना गरे। उनको भनाइ छ, 'कुनै मान्छेको मृत्युपछि वा शेखपछि सम्पत्ति प्राप्त गर्ने बुँदा फेला पर्यो भने उक्त मान्छेलाई मारेर सम्पत्ति दिने भन्ने अर्थ लाग्छ?'
अस्थिर सरकारबाट आजित भएर प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार सर्वदलीय सहमतिबाटै खोसिएको उनले बताए। त्यसबारेकाे जानकारी नेताहरु मात्रै होइन, कानुन व्यवसायी र सरोकार राख्नेलाई भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।