काठमाडौं-नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गत आर्थिक वर्ष २०७६/७७ मा तीन करोड ६ लाख रुपैयाँ प्राप्त गरेका छन्। पाण्डेले तलबबापत मात्रै एक करोड ६० लाख रुपैयाँ बुझेका हुन्।
यसबाहेक उनले भत्ताबापत एक करोड ७ लाख रुपैयाँ लिएका छन्। बैंकले उनलाई २२ लाख ३३ हजार रुपैयाँ दसैैंभत्ता दिएको छ। सञ्चयकोषमा उनको नाममा १६ लाख ८ हजार रुपैंयाँ बैंकले जम्मा गरिदिएको छ। पाण्डेले यसबाहेक नियमअनुसार बोनस पनि प्राप्त गर्छन्। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उनले प्राप्त गरेको बोनस रकमलाई भने समावेश गरेको छैन।
यसका साथै बैंकले कार्यकारी प्रमुखको पानी बिजुली र टेलिफोन महसुलकाे भुक्तानी पनि गरिदिन्छ। पाण्डेलाई सवारी चालक, इन्धन खर्च, बिमा, पत्रपत्रिका तथा तीन जना सुरक्षा गार्डको समेत सुविधा प्रदान गरिएको छ। बैंकको अन्य उच्च व्यवस्थापनका कर्मचारीले गत वर्ष तलबबापत ११ करोड २३ लाख रुपैयाँ प्राप्त गरेका छन्। बैंकले उनीहरुलाई ७ करोड ७९ लाख रुपैयाँ भत्ता दिएको छ। उनीहरुले यसबाहेक नियम अनुसार बोनस तथा अन्य विविध सुविधाहरु प्राप्त गर्छन्।
गत वर्ष सञ्चालक समितिका पदाधिकारीहरुले बैठक भत्ताबापत १८ लाख १६ हजार रुपैयाँ प्राप्त गरेका छन्। बैंकले माघ ८ गते ३४ औ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा सञ्चालक समितिले गत वर्षको मुनाफाबाट ५.५ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ। पुस २१ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनुका साथै लाभांश पनि प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।