काठमाडौं-टेस्लाको सेयरमा उल्लेख्य वृद्धि भएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन्। बिहीबार टेस्लाको सेयरमा अचानक ठूलो वृद्धि भएको थियो। सेयर मूल्यका आधारमा मस्कको सम्पत्ति १ सय ९४ अर्ब डलर पुगेको छ।
मस्कको उक्त सम्पत्ति यसअघिका सर्वाधिक धनाढ्य जेफ बेजोसको भन्दा ९.५ अर्ब डलर बढी हो। विगतका केही वर्षहरुमा उनले १ सय ६५ अर्ब डलरभन्दा बढी कमाउन सफल भएका थिए। गत वर्षमात्रै टेस्लाको सेयरमा नाटकीय रुपले ७ सय ४३ प्रतिशतको वृद्धि भयो। यो नै मस्कको सम्पत्ति वृद्धिको आधार बनेको थियो।
सन् २०१० देखि टेस्लाको सेयरमा २ लाख ३९ हजार ५ को वृद्धि भएको छ। टेस्लाले २०२० मा करिब ५ लाख कार बिक्री गरेको थियो। सो वर्ष टेस्लाका कारको बिक्रीमा पनि ३६ प्रतिशतले वृद्धि भएको थियो।
उनले लगातार तीन वर्षदेखि पहिलो स्थानमा रहेका अमेजनका मालिक जेफ बेजोसलाई पछि पारेका हुन्। टेस्लाको सेयर मूल्यमा लगातार भएको वृद्धिले मस्कलाई विश्वका सबैभन्दा धनी बनाएको हो। अझै पनि टेस्लाको सेयर मूल्य बढ्ने क्रम जारी छ।
सेयरमूल्यमा भएको वृद्धिले कार निर्माता कम्पनी टेस्ला यसअघि नै विश्वकै सबैभन्दा मूल्यवान कार निर्माता कम्पनी बनिसकेको छ। टेस्लामा मस्कको २० प्रतिशत सेयर छ।
मस्क टेस्ला इंक र स्पेस एक्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्। टेस्ला विश्वमा विद्युतीय कारका निम्ति निकै चर्चित छ। अमेरिका र चीनमा टेस्लाको कार प्लान्ट रहेको छ। याे नेपाली बजारमा समेत अवैध रुपमा भित्रिसकेको छ। यता भारतमा भने अबको केही समयमा टेस्लाको औपचारिक प्रवेश हुँदै छ।
बेजोसको सम्पत्तिमा पनि यो एक वर्षमा ठूलो वृद्धि भएको छ। कोरोना महामारी अवधिभर अमेजनले अनलाइन स्टोर र कम्प्युटिङ सेवाको उच्च मागबाट अत्याधिक लाभ कमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।