काठमाडौं–बैंकहरुले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा दिएबापत मनपरी शुल्क लिन थालेपछि नेपाल राष्ट्र बैंकले पहिलो पटक कानुनी व्यवस्था गरेको छ। राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै यस्तो शुल्क लिनुअघि ग्राहकहरुलाई जानकारी दिनु पर्ने व्यवस्था गरेको हो।
नेपाल लाइभले गत साउनमा बैंकहरुले मोबाइल बैंकिङ र एटिएममा मनपरी शुल्क लिएको भन्दै समाचार लेखेको थियो। बैंकहरुले ग्राहकलाई जानकारी नै नदिइ एटिएम तथा मोबाइल बैंकिङका लागि मनपरी शुल्क उठाउदै आएका थिए। बैंकहरुले आर्थिक वर्ष सुरु भए सँगै एटिएम शुल्क भन्दै मनपरी असुल उपर गर्दै आएका छन्। बैंकहरुले इन्टरनेट बैंकिङ शुल्कबापत वार्षिक शुल्क लिनुका साथै प्रत्येक कारोबारमा थप शुल्क लिँदै आएका छन्।
यस्तो शुल्कमा बैंकहरुबीच एकरुपता छैन। कुनै बैंकले निःशुल्क यस्तो सेवा प्रवाह गर्ने गरेका छन्। तर कतिपय बैंकले यसैलाई आफ्नो प्रमुख आम्दानी बनाउने गरेका छन्। ग्राहकहरुले बैंकमा निक्षेप जम्मा गर्दा उनीहरुले कर्जा प्रवाह गरेर व्याज असुल उपर गर्छन्। तर आफ्नै निक्षेप झिक्ने क्रममा अत्याधिक शुल्क तिर्नु पर्छ।
राष्ट्र बैंकले यस पटक ग्राहकलाई जानकारी दिनु पर्ने भन्दै बैंकहरुलाई उन्मुक्ति दिएको छ। तर अझै पनि उक्त शुल्कका विषयमा सीमा निर्धारण गर्न सकेको छैन। बैंकहरुका अनुसार यस्तो सेवा प्रवाह गर्दा बैंकको प्राविधिक खर्च हुने गरेको छ। उक्त खर्च उठाउने बहानामा अत्याधिक शुल्क लिने गरेका हुन्।
अर्कोतर्फ कतिपय बैंकहरुले पासवर्ड विर्सिएको बहानामा थप शुल्क लिने गरेका छन्। राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एसएमएस बैंकिङको पासवर्ड बिर्सिएमा ग्राहकहरु आफैंले लिन मिल्ने व्यवस्था मिलाइदिन निर्देशन दिएको छ। विद्युतीय कारोबारको सुरक्षाको उचित प्रवन्ध मिलाउँदै यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो।
अन्य बैंकहरुको एटिएम प्रयोग गर्दा मनपरी शुल्क लिने कामलाई भने राष्ट्र बैंकले नियमन गरेको छ। अन्तर बैंक एटिएम प्रयोग गर्दा महिनामा दुई पटकसम्म झिक्दा निःशुल्क र त्यसपछि प्रति कारोबार २० रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ। कोभिड अगाडिको अवस्थामा बैंकहरुले यस्तो शुल्क पनि मनपरी लिने गरेका थिए। कतिपय बैंकहरुले १०० रुपैयाँसम्म लिने गरेका थिए। अबदेखि २० रुपैयाँ भन्दा बढी लिन पाउनेछैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।