काठमाडौं- दोस्रो बजारले दिनदिनै नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। बिहीबार पनि दोस्रो बजारले थप १५ अंकको सुधार सहित २१९४ दशमलव ४८ अंकको नयाँ रेकर्ड बनाएको हो। लगातार दोहोरो अंकको सुधार हुँदा पनि कारोबार रकममा भने खासै उत्साह देखिँदैन।
बिहीबार ५ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ। जम्मा २०८ वटा कम्पनीको कारोबार हुँदा ११२ वटाको मूल्य बढेको छ भने ४७ वटाको घटेको छ।
बजार सुधार हुने क्रममा चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अन्य सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ। बजारमा तरलता उच्च हुँदा यसको प्रभाव दोस्रो बजारमा परिरहेको छ। बैंकहरुले ब्याजदर घटाउन थालेसँगै लगानीकर्ताले शेयर धितोकर्जा लिएर लगानी गरिरहेका छन्।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाशका लागि व्याज र किस्ताको जोहो गर्दा पनि दोस्रो बजारमा सुधार आइरहेको छ। अधिकांश वाणिज्य बैंकहरुको बुक क्लोजपछि घटेको मूल्यमा शेयर किन्नेको होडबाजीले गर्दा अधिकांश बैंकहरुको शेयर मूल्य बुक क्लोजभन्दा अगाडिको मूल्यभन्दा धेरै भइसकेको छ। लगानीकर्ताहरुमा बजार अझै सुधार हुने मनोविज्ञान हाबी हुँदा बढ्दो मूल्यमा पनि लगानीकर्ताको आकर्षण देखिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।