काठमाडौं- नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वार्षिक तलब सुविधाबापत करिब ४७ लाख रुपैयाँ बुझेका छन्। आर्थिक वर्ष २०७६/७७ मा अधिकारीले ४६ लाख ९६ हजार रुपैयाँ प्राप्त गरेको पाइएको हो। अधिकारीले तलबबापत ३० लाख १३ हजार रुपैयाँ र १६ लाख भत्ता बुझेका हुन्।
अन्य वाणिज्य बैंकहरूका सिइओका तुलनामा यो रकम उल्लेख्य रूपमा कम हो। सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीको तलब सुविधा सरकारी स्केलअनुसार हुने गरेको छ।
त्यस्तै बैंकको कम्पनी सचिव र अन्य व्यवस्थापन पदाधिकारीहरुले भने तलब भत्ता बापत ५ करोड १० लाख रुपैयाँ बुझेका छन्।
सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरुले भने गत वर्ष बैठक भत्ता बापत १७ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्। उनीहरुले प्रतिबैठक भत्ता बापत ४ हजार रुपैयाँ प्राप्त गर्छन्। यसका साथै बैंकले व्यवस्थापन तथा विज्ञहरुलाई ७ लाख २६ हजार रुपैयाँ प्रदान गरेको छ।
कम्पनीका सेयरधनीहरुले गत वर्षको मुनाफाबाट ४ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर प्राप्त गर्ने छन्। बैंकले पुस २९ गते ६१औँ वार्षिक साधारणसभा बोलाएको छ। पुस १५ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनुका साथै लाभांश प्राप्त गर्नेछन्। साधारणसभामा सर्वसाधारण सेयरधनी समूहबाट तीन जनाको निर्वाचन गर्ने कार्यतालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।