काठमाडौं–सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल रावलले जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएका छन्। कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले बुधबार रावललाई सफाइ दिएको हो।
जिल्ला अदालतले अभियोग दावी नपुगेको भन्दै रावललाई सफाई दिएको अधिवक्ता गम्भीर सिंह ऐरले बताए।
अछाम जिल्लाबाट निर्वाचित रावलविरुद्ध २०७६ माघमा जबर्जस्ती करणीको मुद्धा दर्ता भएको थियो। धनगढीकै एक महिलाले आफूलाई जबर्जस्ती करणी गरेको उजुरी गरेपछि रावलविरुद्ध कैलाली जिल्ला अदालतमा बलात्कार मुद्धा दर्ता गरिएको थियो।
रावलको पक्षबाट अधिवक्ताहरु गम्भीर सिंह ऐर, गंगाराम पाध्याय र प्रयागदत्त भट्टले बहस गरेका थिए।
रावलले जिल्ला अदालतबाट सफाइ पाए पनि उनीविरुद्ध लागेको मुद्धालाई उच्च अदालतमा पुनरावलोकन गर्ने बाटो भने खुला रहनेछ। सरकारी वकिलले फैसलाको पूर्ण पाठ आएको ७० दिनभित्र उच्च अदालतमा सो मुद्धा पुनरावलोकन गर्न सक्ने कानूनी प्रावधान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।