काठमाडौं–एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले गत आर्थिक वर्ष २०७६/७७ मा तलब तथा परिश्रमिकबापत एक अर्ब ७५ करोड २८ लाख रुपैयाँ प्राप्त गरेका छन्। केसीले तलबबापत ५९ लाख ४ हजार रुपैयाँ बुझेका छन्। त्यस्तै भत्ताबापत ५२ लाख २४ हजार रुपैयाँ पाएका छन्। नियम अनुसार बोनस तथा वेल्फेयर ५५ लाख ७६ हजार रुपैयाँ बुझेका छन्।
बैंकका प्रमुख व्यवस्थापनका कर्मचारीहरुले अल्पकालीन कर्मचारी सुविधाबापत ५ करोड २४ लाख रुपैयाँ लिएका छन्। सञ्चालक समितिले बैठक भत्ताबापत ११ लाख ७३ हजार रुपैयाँ लिएका छन्। सञ्चालक समितिका अध्यक्षले प्रति बैठक भत्ता १८ हजार रुपैयाँ र अन्य सञ्चालक सदस्यहरुले प्रति बैठक भत्ता १६ हजार रुपैयाँ पाउछन्। यसबाहेक उनीहरुले टेलिफोन, पत्रिका र मोबाइल खर्चबापत प्रति महिना १२ हजार रुपैयाँ प्राप्त गर्छन्।
बैंकले पुस २९ गते २५ औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट ३.२० प्रतिशत नगद लाभांशको प्रस्ताव लगिएको छ। त्यस्तै १३ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव साधारणसभामा लगिँदैछ। पुस १५ गतेसम्म कायम सेयरधनीले साधारणसभमा भाग लिन पाउने छन्।
बैंकको हालको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। बोनस सेयर वितरणपछि १६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।