काठमाडौं–सिटिजन्स इन्टरनेशनल बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्नका लागि सेयरधनीहरु सँग अन्तिम स्वीकृति लिन विशेष साधारणसभा बोलाएको छ। दुवै बैंकले एकै दिन मर्जरको विशेष प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेका हुन्। बुधबार दुवै बैंकबीच मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
दुवै बैंकले माघ १५ गते विशेष साधारणसभा बोलाएका हुन्। साधारणसभाले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेपछि एकीकृत कारोबार गर्ने छन्। सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) पछि एक बराबर ०.९६ को अनुपातमा सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गर्ने छ।
तिनाउलाई प्राप्ति गरेपछि सिटिजन्सको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ। हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। विशेष साधारणसभा प्रयोजनका लागि माघ २ गते एक दिन बुक क्लोज गर्नेछ। बुक क्लोज अगाडि कायम सेयरधनीहरु मात्रै विशेष साधारणसभामा भाग लिन पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।