काठमाडौं- भारतमा कार नयाँ कार किन्न चाहने उपभोक्ताले १० महिनासम्म कुर्नुपर्नेछ। सवारी उत्पादक कम्पनीहरुले कोरोना भाइरसको संक्रमणका कारण लामो समय उत्पादन रोकेको र त्यसपछि सुरु भएको उत्पादन समेत न्यून भएकाले कार पाउन समय लागेको हो।
निजी प्रयोजनका लागि प्रयोग हुने यातायात साधनको माग उल्लेख्य रुपमा बढेकाले कार किन्न चाहने उपभोक्ताले कार पाउन १ देखि १० महिनासम्म कुर्नुपर्ने अवस्था आएको हो। धेरै बिक्री हुने कम्प्याक्ट एसयुभीमा कार पाउन त्यति धेरै समउ कुर्नुपर्ने अवस्था भने छैन। तर साना कार मारुती अल्टो, वेगनआर, ह्याचब्याकमा मारुती स्वीफ्ट र हुन्डाई आइ ट्वान्टीसहित सेडान कार किन्न चाहने उपभोक्ताले १ देखि १० महिनासम्म कुर्नुपर्ने अवस्था रहेको द इकोनोमिक टाइम्सले लेखेको छ।
बजार हिस्साका हिसाबले भारतको सबैभन्दा ठूलो सवारी उत्पादक मारुतीले अक्टोबरसम्म पूर्ण क्षमतामा कार उत्पादन गरेको थियो।
त्यतिबेलासम्म अल्टो, स्वीफ्ट, र वेगनआर ३/४ सातासम्म र इर्टिगाको लागि ६ देखि ८ सातासम्म कुर्नुपर्ने अवस्था थियो।
मारुतीले डिसेम्बर २७ देखि जनवरी ३ सम्म मर्मतका लागि प्लान्टहरु बन्द गरेको थियो। कम्पनीले पूर्ण क्षमतामा उत्पादन भएपनि अहिलेको परिस्थितिबाट पार पाउन केही समय लाग्ने डिलरहरुको भनाइ छ।
हुन्डाईले पछिल्लो ६ महिनायता क्रेटाको दैनिक उत्पादन ३ सय ४० वाट ६ सय ४० पुर्याएको छ। अहिले हुन्डाईको क्रेटा किन्न चाहने उपभोक्ताले ६ महिना कुर्नुपर्ने अवस्था २ देखि ३ महिनामा झरेको हुन्डाई मोटर इन्डियाका निर्देशक (उत्पादन) गणेश मणीको भनाइ छ। त्यस्तै हुन्डाईको नयाँ आइ ट्वान्टीका लागि समेत उपभोक्ताले २–३ महिना कुर्नुपर्ने अवस्था छ। हाल हुन्डाई आइ ट्वान्टी ८ देखि ९ हजार वटा मासिक उत्पादक भइरहेकोमा आवश्यक पर्दा बढाएर १२ हजारसम्म पुर्याउन सकिने कम्पनीको भनाइ छ।
त्यस्तैगरी कियाको सोनेट र सेल्टो किन्ने ग्राहकले समेत कार पाउन २ देखि ३ महिना कुर्नुपर्ने अवस्था रहेको छ। सवारीको माग अनपेक्षित रुपमा बढेकाले कम्पनीले मासिक २ हजारवटा कार उत्पादन गरेकोमा छोटो समयमै ३५ सय पुर्याउँदा समेत समयमै उपलब्ध गराउन कठिन भएको महिन्द्रा एन्ड महिन्द्राका सिइओ (अटोमोटिभ डिभिजन) विजय नक्राले बताए। महिन्द्राको हालै सार्वजनिक गरिएको थार किन्ने उपभोक्ताले २० देखि ४० सातासम्म कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
त्यस्तै निसानले अघिल्लो साता म्यागनाइटको मासिक उत्पादन २७ सयलाई बढाएर ४ हजार पुर्याउने निर्णय गरेको थियो। मासिक २७ सय उत्पादन गर्दा म्यागनाइट किन्ने उपभोक्ताले ६ महिना कुर्नुपर्ने थियो भने अब त्यो घटेर २ देखि ३ महिनामा झरेको निसान इन्डियाले जनाएको छ।
नेपालमा समेत दसैंपछि कारको व्यापार उल्लेख्य रुपमा वृद्धि भएको छ। नेपाल आउने ८० प्रतिशत कार भारतमै निर्मित हुने गरेको छन्। भारतमा कार उत्पादकहरुले माग बढेका कारण उपभोक्ताले कार पाउन लामो समय कुर्नुपरेको हो। त्यसको असर नेपाली बजारमा समेत देखिन सक्छ।
तर हालसम्म त्यस्तो असर नदेखिएको सवारी आयातकर्ताहरुको भनाइ छ। उत्पादक कम्पनीले दिएको अर्डरअनुसार नेपालमा कार उपलब्ध गराउने भएकाले तत्काल प्रत्यक्ष असर नदेखिएको एक आयातकर्ताले बताए। ‘तत्काल त्यस्तो असर नदेखिएको भएपनि भारतमा उपभोक्ताले कार पाउन महिनौं कुर्नुपर्ने अवस्था आएकाले त्यसको असर क्रमिक रुपमा नेपालमा समेत देखिनेछ,’ ती आयातकर्ताले भने, ‘तथापी नेपाल ठूलो बजार नभएकाले प्रभाव कम नै पर्न सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।