काठमाडौं- सिङ्गटी हाइड्रोपावर कम्पनीले ४३ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काश अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो।
कम्पनीले दोलखा जिल्लामा २५ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्णमा गरेको छ। पहिलो चरणमा प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि जारी गर्नेछ।
कम्पनीको शेयर पुँजी संस्थापकको ७० प्रतिशत र सर्वसाधारण समुहको ३० प्रतिशत रहनेछ। सर्वसाधारण तर्फको शेयर निष्काशनपछि कम्पनीको पुँजी एक अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ।
आयोजनाको जम्मा लागत ४ अर्ब ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। प्रतिमेगावाट लागत भने १९ करोड रुपैयाँ हुन आउँछ। कम्पनीले सुरुवातमा १६ मेगावाटको आयोजना निर्माण गर्ने गरी डिजाइन तयार पारेकोमा पछिल्लो समय क्षमता बढाएर २५ मेगावाट पुर्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।