काठमाडौं- मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको प्रतिक्रियाप्रति आम चासो व्यक्त भएका छन्। उनकै नेतृत्वमा संविधान निर्माण भएकाले पनि उनको धारणाबारे चासो बढेको हो।
तर उनी भने सार्वजनिक रुपमा बोलेका छैनन्। वा, अदालतको निर्णय कुर्ने संक्षिप्त प्रतिक्रिया दिने गरेका छन्।
यद्यपि, नेम्वाङले भने यसअघि सार्वजनिक रुपमै प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने बताएका थिए।
गत २०७६ साल साउन ४ गते धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवादमा नेम्वाङले प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने धारणा राखेका थिए। त्यसको भिडिओ अहिले सामाजिक सञ्जालमा फैलिरहेको छ।
'अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्। संविधानमा यो व्यवस्था छैन। पत्रकारले समाचार लेख्दा हेक्का राख्नुपर्छ', नेम्वाङको भनाइ संसदीय पत्रकारको ट्विटर अकाउन्ट (@jspanepal) मा उल्लेख छ।
'प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकारलाई हामीले हटायौं। अहिले प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैन। हामीले संविधानमा त्यो व्यवस्थै राखेनौं', जुलाइ २०, २०१९ को भिडिओमा उनले भनेका छन्।
नेम्वाङले संविधानमै चुनावको पनि मिति तोक्ने तयारी गरिएको तर पछि त्यस्तो प्रावधान नराखिएको बताएका छन्।
'अलिकति अगाडि भएमा बाहेक संविधानमा त हामीले यो दिनमा निर्वाचन गर्ने भनेर गर्ने भनेर राख्न खोजेका थियौं। तर त्यही दिन भनेर राख्दा एकदिन पनि तलमाथि पर्यो भने संवैधानिक अप्ठ्यारो आउँछ भनेर हामीले त्यो गरेनौं। त्यसैले अहिलेको संवैधानिक व्यवस्था भनेको आवधिक निर्वाचन हो। १५/२० अगाडि पछाडिको कुरा होला। तर आवधिक निर्वाचन, ठ्याक्कै पाँच वर्षमा चुनाव हुन्छ। कुरा भनेको त्यो हो।'
हेरौं भिडिओ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।