काठमाडौं- संघीय सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट खर्च सुस्त भएपछि खर्च बढाउने गरी काम गर्न निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयले अहिलेसम्म १२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै खर्च बढाउने गरी काम गर्न निर्देशन दिएको हो।
महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै अहिलेसम्म खर्चको अवस्था कमजोर रहेको भन्दै लक्ष्यअनुसार काम गर्न निर्देशन दिएको छ। चालु आर्थिक वर्षको बाँकी अवधिमा खर्च बढ्ने गरी काम गराउन पनि निर्देशन दिइएको छ।
'चालु आर्थिक वर्ष २०७७/०७८ को हालसम्ममा विनियोजित पुँजीगत खर्चको करिब १२ प्रतिशत मात्रै खर्च भई न्यून वित्तीय प्रगति भएकाले पुँजीगत खर्च गर्ने सम्पूर्ण निकायलाई साधन, स्रोत र जनशक्ति परिचालन गरी चालु आर्थिक वर्षको बाँकी अवधिमा उच्चतम उपलब्धि हासिल गर्ने गरी काम गर्न अनुरोध छ,' पत्रमा भनिएको छ।
कार्यालयले सरकारी निकायको आन्तरिक लेखापरीक्षण गर्दा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्डअनुसार काम गर्न पनि निर्देशन दिएको छ। कोभिड – १९ का कारण सरकारी स्रोतको व्यवस्थापनमा कठिनाइ भएकाले खर्चको मितव्ययिता सम्बन्धी मापदण्डको कार्यान्वयन गर्न कार्यालयले निर्देशन दिएको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबारसम्ममा १२ प्रतिशत पुँजीगत खर्च भएको छ। चालु आर्थिक वर्षका लागि ३ खर्ब ५३ अर्ब रूपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकोमा ४३ अर्ब रूपैयाँ मात्रै भुक्तानी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।