काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुले मंगलबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । अनेरास्ववियुले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्यम्पसहरुमा कालो ब्यानर राख्ने र कोण सभा आयोजना गर्ने भएको छ।
यस्तै, पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस निकाल्ने, उपत्यकाबाहिर लाल्टिन, सिठ्ठी, लाठी जुलुस प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने, पुस २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले बताए। त्यस्तै, पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, २६ गते बयलगाडा प्रदर्शन गर्ने, २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने भएको छ ।
यस्तै, अनेरास्ववियुले शैक्षिक संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ। संघीय संसदबाट सर्वसम्मतरुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न दबाब दिने सह–संयोजक तामाङले बताए। उनले कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्योलता तत्काल अन्त्य गर्न दबाबमुलुक कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल सुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिएको शुल्क खारेज गर्न आन्दोलन गर्ने बताए।
सह–संयोजक तामाङले प्रतिनिधि सभा पुर्नस्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्ववियुले अझै सशक्त कार्यक्रम गर्ने बताए। माघ १ गते तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।