काठमाडौं–निर्माणाधीन कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएको छ। हाल नौ पुल निर्माणाधीन रहेकामा सात वटा सम्पन्न हुने देखिएको हो।
राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण करिडोरमा अहिलेसम्म जम्मा २२ पुल चाहिने देखिएको कोशी करिडोर, खाँदबारी–किमाथाङ्का सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए। अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा छ। खाँदबारीबाट ५० किमी अगाडि अरुणखोलामा झण्डै तीन वर्ष पहिले पुल बनेको थियो।
उनका अनुसार मौसम र समयानुकूल भए चालु आवभित्रै सात पुल सम्पन्न गर्न सकिन्छ। फाकसिन्दाबाट अगाडि रहेको पुल निर्माणको अन्तिम चरणमा पुगेको र अबको दुई साताभित्रै सकिने देखिएको उनको भनाइ छ। उनले भने, ‘करिडोरको अरुणखोलामा एउटा पुल सम्पन्न भइसकेको छ भने अरु ससाना खोलामा पुल निर्माणाधीन छन्।’
करिडोरअन्तर्गत नै पाँच पुल डिजाइनको स्वीकृतिका क्रममा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए। डिजाइन स्वीकृत भएमा चालु आवभित्रै ठेक्का निकाल्न सकिने उनको भनाइ छ। त्यो ठाउँमा सामग्री नभएकाले डिपिआर गरेर पछि निर्माण गर्ने भन्ने पनि छलफल भइरहेको छ। उनले भने, ‘निर्माण सामग्री नै नपाउने र पाउँदा पनि गुणस्तरीय पाउन गाह्रो छ।’
जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ किमीमा ट्र्याक खुलिसकेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ। गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो। सेनाले निर्माणको काम माघदेखि सुरु गर्ने गरी अघि बढाएको जनाएको छ। अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको योजनाले जनाएको छ । अर्थ मन्त्रालयले कालोपत्रका लागि रु दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।