काठमाडौं- कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम कार्यान्वयन विवाद झन् लम्बिएको छ। सर्वाेच्च अदालतमा विचाराधीन मुद्दालाई सर्वोच्चले अन्तिम फैसलाका लागि पठाउने आदेश गरेको छ। न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाका इजलासले अन्तिम सुनुवाइका लागि पठाउने आदेश गरेको हो।
सर्वोच्चले २७ गतेबाट अन्तिम सुनवाई गर्ने भनेको छ। नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु भएपछि उक्त पाठ्यक्रम कार्यान्वयन नगर्न आदेश माग गर्दै भगवता अर्यालसमेतले सर्वोच्चमा रिट दिएका थिए। उक्त रिटमा सुनुवाई गर्दै कात्तिक १९ गते अन्तरकालीन आदेश गरेको थियो।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्कालका लागि लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्चले अन्तिम सुनुवाई गर्ने भएपछि यसअघि जारी भएको आदेश निरन्तर हुनेछ। सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न आदेश दिँदा हाल कक्षा ११ लाई कुन पाठ्यक्रम पठनपाठन गराउने भन्ने समस्या उत्पन्न भएको छ। सर्वाेच्चले फैसला नसुनाएसम्म पाठ्यक्रम सञ्चालनमा ल्याउन झनै अन्यौलता परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।