काठमाडौं–भारतीय दुईपांग्रे सवारी उत्पादक कम्पनी बजाज अटो विश्वकै मूल्यवान ब्रान्ड बन्न सफल भएको छ। स्थापनाको ७५ वर्षपछि बजाज मोटरसाइकल विश्वकै सर्वाधिक ब्राण्ड भ्यालु भएको मोटरसाइकल कम्पनी बनेको हो।
नेशनल स्टक एक्स्चेन्ज अफ इन्डिया लिमिटेड (एनएसई) मा शुक्रबार बजाज मोटरसाइकल कम्पनीको सेयर मूल्य ३ हजार ४ सय ७९ भारतीय रुपैयाँ पुगेसँगै बजाजको मार्केट क्यापिटलाइजेशन १ लाख करोडभन्दा बढी पुगेको हो।
यो अहिले विश्वमा मोटरसाइकल उत्पादन गर्ने कम्पनीमध्ये सर्वाधिक क्यापिटलाइजेशन भएको कम्पनी बनेको छ। बजाजले भारतमा बनाउने पल्सर सिरिजका मोटरसाइकल विश्वका ७० देशमा विक्री हुँदै आएको छ भने भारतमा मोटरसाइकल बनाएर सर्वाधिक निर्यात गर्ने कम्पनी पनि बजाज नै हो।
बजाजले हालै पूणेनजिक चकान भन्ने ठाउँमा ६ सय ५० करोड भारु लगानी गरेर नयाँ प्लान्ट स्थापना गर्दैछ। यो प्लान्टबाट विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीले जनाएको छ।
बजाजको पल्सर सिरिज, बक्सर, आई रिक्सा र प्लाटिना मोटरसाइकल सफल मोडल हुन् भने डोमिनार र एभेन्जर क्रुजर मोटरसाइकल हुन्। बजाजको पल्सर सिरिजमा १ सय २५ सिसीदेखि २ सय २० सिसी रेन्जमा र इन्ट्रिलेवलमा प्लाटिना र सिटी १०० रहेका छन्।
अन्तर्राष्ट्रिय मोटरसाइकल ब्राण्डसँग साझेदारीमा पनि बजाज निकै अगाडि रहेको छ। कम्पनीले अष्ट्रियन ब्राण्ड केटिएम, स्वीडिस ब्राण्ड हस्कभर्ना र वेलायती ब्राण्ड ट्रायम्फसँग सहकार्य गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।