काठमाडौं–फिल्म सञ्चालनको एक सातापछि बल्ल कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय समिति (सीसीएमसी) ले हल खुला गर्ने निर्णय गरेको छ।
समितिको आइतवार बसेको बैठकले आवश्यक परेको अवस्थामा फेरि बन्द गर्न सकिने अधिकारसहित हल खुला गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव महेन्द्रप्रसाद गुरागाइँले बैठकको निर्णय सुनाउँदै पुनः रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने बताएका हुन्।
त्यस्तै, हल खुलिसकेपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको अनुगमन गर्ने र पालना नभएको खण्डमा कारबाही गर्ने निर्णय भएको पनि गुरागाइँले बताए।
सबै क्षेत्र खुलिसक्दा पनि आफूहरुलाई सरकारले हल खोल्न नदिएको भन्दै नेपाल चलचित्र संघको एकल निर्णयमा पुस १० गतेदेखि नै हल संञ्चालनमा आइसकेको थियो। दर्शकको न्युन उपस्थितिका कारण हलमा फिल्म लगाउन ठूला ब्यानरका निर्माताहरु भने डराइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।