काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक साझेदारका रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन्।
आइतबार बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारण सभालाई सम्बोधन गर्दै ढकालले अहिले पूँजी अभावका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था नरहेको बताए। उनले भने‚ ‘अहिले कुनै एक सानो कम्पनीको आइपिओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्छ। यसैबाट देखिन्छ कि जनतासँग छरिएर रहेको पूँजी धेरै छ। मात्र त्यसलाई एकत्रित गरेर लगानी गर्न आवश्यक छ।’
निजी क्षेत्रलाई विकासमा राज्यको साझेदारका रुपमा लिएको मलेसियाको उदाहरण दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक साझेदारका रुपमा लिँदैन तबसम्म निजी क्षेत्रको लगानी पनि विस्तार हुन नसक्ने बताए।
आइएमई ग्रुपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भएपनि निजी क्षेत्रको लगानी आउन नसक्ने बताए। ‘राज्यको परम्परागत नियम, कानून र दृष्टिकोणले व्यवसायीहरुलाई सहजीकरण भन्दा पनि निरुत्साहित गरेको देखिएको छ‚’ ढकालले भने‚ ‘सबै व्यवसायी नाफाखोर हुन् भन्ने धारणा राज्यको छ।’
व्यवसायीले राज्यसँग लगानी र व्यवसायमैत्री वातावरण एवं आफ्नो व्यवासायिक सुरक्षाको माग गर्दा कुनै व्यक्तिका लागि मागेजस्तो व्यवहार राज्यले गर्ने र परम्परागत दृष्टिकोणहरु अहिले पनि कायमै रहँदा देशमा उद्योग तथा व्यवसायका क्षेत्रमा सहजवातावरण बन्न नसकेको उनको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।