काठमाडौं–नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा केन्द्र र प्रदेशस्तरीय एशोसिएसनका जानकारी एक अर्कालाई हुनुपर्ने बताएका छन्।
नाडा र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) बीच शनिबार भएको अन्तक्र्रियामा उनले विधानमा सबै प्रदेशलाई समावेश गरी थप सशक्त बनाउने प्रयास नाडाले गरिरहेको बताए।
कार्यक्रममा नाडाका पूर्वअध्यक्ष सौरभ ज्योतीले नाडा र वाडा एकजुट भएर अघि बढनुपर्ने धारणा राखे। सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउँदै सवारी साधनको आयातमा नै नियन्त्रण गर्न खोजेको आफूहरुलाई महसुस भईरहेको उनको भनाइ छ।
‘अटोमोवाइल वस्तुहरुको तथ्यांक राख्नु अत्यन्तै जरुरी छ, यसो भएमा हामीले तथ्यगत रुपमा आफ्ना माग सरकारसमक्ष राख्न सक्ने हुँदा मागहरु पुरा हुन सक्ने सम्भावना बढेर जान्छ,’ उनले भने, ‘नेपालमा अटोमोवाइल पत्रकारिता अघि बढ्न नसकेको सन्दर्भमा हामीले त्यसलाई अघि बढाउन सक्दो प्रयास गर्नु पर्छ।’ नाडाका तर्फबाट विज्ञ व्यक्तिहरुको सहयोगबाट कार्य गर्नुपर्ने सुझाव उनले दिए। त्यसैगरी प्रदेशस्तरीय अटो शो कसरी गर्ने भन्ने बारे पनि नाडाले ध्यान दिनुपर्ने ज्योतीले बताए।
कार्यक्रममा महासचिव सुनील रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा हुने समस्याबारे जानकारी दिँदै त्यसको समाधानका लागि सुझाव दिए। उनले सबै व्यवसायीहरुले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्नु पर्ने धारणासमेत राखे।
पोखरामै बसको नाडा केन्द्रीय कार्य समितिको ७ औं बैठकले २०७७ फागुन २१ गते नाडाको ४४औं वार्षिक साधारण सभा काठमाडौंमा गर्ने निर्णय गरेको छ। सो बैठकले महासचिव सुनील रिजालको संयोजकत्वमा सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानियासमेत सदस्य रहनेगरी चार सदस्यीय ४४औं वार्षिक साधारण सभा तयारीसमिति समेत गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।