सोल- कोरियाली रेलमार्ग अनुसन्धान संस्थान (कोरेल)ले द्रुत गतिमा कुद्ने रेलको परीक्षण सफल भएको छ। कोरेलको पछिल्लो रेल संस्करण हाईपरट्युब रेल प्रतिघण्टा १ हजार किलोमिटरका दरले कुद्न सक्ने र यसको परीक्षण पनि सफल भएको संस्थानले जानकारी दिएको छ।
हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो। कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम सुरु गरेको थियो। गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलता स्वरुप प्रतिघण्टा ७ सय १४ किलोमिटरका दरले कुद्न सफल भएको थियो।
नयाँ घोषणाअनुसार यसअघिका कमीकमजोरी समाधान गरी प्रतिघण्टा एक हजारभन्दा बढीको गतिमा कुद्न सक्ने रेलको परीक्षण सम्पन्न भएको संस्थानको भनाइ छ।
कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एसियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको दाबी कोरेलको छ। कोरेलले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्रयाकलगायतका पूर्वाधार विकास गरिसक्ने जनाएको छ।
सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने कोरियाली सरकारको तयारी छ। अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सोलबाट बुसान तथा देशमा जुनकुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।