काठमाडौं–हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने भएकाले सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं संख्या अद्यावधिक गर्न शनिबारदेखि जलपंक्षीको गणना सुरु भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानीयस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ।
नेपालमा यही पुस १८ देखि माघ ५ गते (जनवरी २ देखि १८) सम्म हुने जलपन्छी गणनामा यस क्षेत्रका विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवीलगायत गरी ३०० भन्दा बढी जनशक्ति संलग्न रहेको बताइएको छ । यस वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गणना गर्न आयोजक संस्थाले आग्रह गरेका छन् ।
सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । नेपालमा १०० भन्दा बढी प्रजातिका जलपन्छी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।