काठमाडौं- फिल्म हेर्न मिल्ने डिजिटल एप ‘गोल्ड सिनेमा घर’ औपचारिक शुभारम्भ भएको छ। सन् २०१६ देखि ‘सिनेमा घर’ नामबाट संञ्चालनमा रहेपनि नयाँ परिमार्जनसहित शुक्रबारदेखि औपचारिक रुपमा सुरु भएको हो।
राजधानीमा एक कार्यक्रम गर्दै नयाँ परिमार्जनसहितको एपको शुभारम्भ भएको घोषणा गरिएको हो। लेखक तथा कलाकार खग्रेन्द्र लामिछानेसहितको टोलीले यो एप संञ्चालनमा ल्याएका हुन्। कार्यक्रममा एप सञ्चालकले फिल्म पाइरेसी र व्यक्तिगत डाटा चोरी हुनबाट सकेसम्म दर्शकलाई जोगाउने प्रविधिको प्रयोग गरिएको बताए।
अंग्रेजी नयाँ वर्ष २०२१ को छेको पारेर ल्याइएको एपमा मुभी मेलाको अफर पनि ल्याएको छ। जसमा ५ सय रुपैयाँमा वर्षभर १८ ओटा नयाँ नेपाली फिल्महरु हेर्न पाइनेछ।
कलाकार तथा लेखक लामिछानेले युट्युबमा निःशुल्क फिल्म हेर्ने बानी परेकाहरूका लागि पैसा तिरेर फिल्म हेर्न सिकाउन यो मुभी मेला अफर ल्याएको बताए।
विदेशमा रहेका नेपाली फिल्मका दर्शकलाई केन्द्रमा राखेर तयार पारिएको एपमा शुक्रबारदेखि युट्युबमा नआएका ६ ओटा फिल्म हेर्न सकिन्छ। जसमा डमरुको डन्डीबियो, कोहलपुर एक्सप्रेस, कागज पत्रलगायत छन्।
एपलाई एन्ड्रोइड फोन, स्मार्ट टिभी, ट्याबलगायतका उपकरणमा डाउनलोड गर्न सकिन्छ। कार्यक्रममा कलाकार दयाहाङ राई, लेखक बुद्धिसागरसँगै लामिछानेले फिल्म हेर्दाका अनुभवहरु पनि बाँडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।