काठमाडौं–अमेरिकी कार उत्पादक कम्पनी फोर्ड र भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले गरेको संयुक्त कार उत्पादनको सहकार्य भंग भएको छ। योसँगै भारतमा फोर्ड र महिन्द्राको ‘जेभी’मा पूर्णविराम लागेको हो। दुई कम्पनीले २०१९ अक्टोबरमा संयुक्त लगानीमा भारतमा कार उत्पादन गर्ने घोषणा गरेका थिए।
तर, २०२० को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ मा दुवै कम्पनीले विज्ञप्ति जारीगरि सहकार्य रोकिएको घोषणा गरेका हुन्। दुवै कम्पनीले मिलेर विभिन्न मोडलका एसयुभी कार उत्पादनका लागि डिजाइनको क्रममा रहेका थिए। यस्तोमा दुई कम्पनीबीचको सहकार्य तोडिँदा अब के हुन्छ भन्ने विषयले भारतीय अटोमोबाइल क्षेत्रमा स्थान पाएको छ।
भारतमा महिन्द्राले ५१ प्रतिशत र फोर्डले ४९ प्रतिशत लगानी गर्ने घोषणा थियो। नयाँ जेभी बन्द गर्नुको मुख्य कारक कोरोना भाइरसलाई देखाइएको छ। विश्वमा देखिएको नयाँ आर्थिक मन्दी र क्यास फ्लोको समस्याका कारण दुई कम्पनीले संयुक्त रुपमा कार उत्पादन गर्ने अवस्था नरहेको जनाइएको छ।
कम्पनीहरुका अनुसार फोर्डको सि सेग्मेन्ट एसयुभी महिन्द्रा एक्सयुभी ५०० को प्ल्याटफर्म आउने छ भने इकोस्पोर्टका लागि नयाँ इन्जिन महिन्द्राले उपलब्ध गराउने सहमति यसअघि भएको थियो। दुईबीच भएको सम्झौता भंगले दुवै कम्पनीले ल्याउन लागेको नयाँ एसयुभीहरुमा समस्या नहुने फोर्ड र महिन्द्राले दाबी गरेका छन्।
भारतीय बजारमा फोर्डका गाडी महिन्द्राको डिलर नेटवर्कको प्रयोग गरेर विक्री गर्ने योजना भने पछिल्लो घटनाक्रमले असफल हुने भएको छ। फोर्ड आफू भारतीय बजारमा एक्लै अगाडि बढ्न तयार रहेको यो सम्झौता भंगले पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।