काठमाडौं- कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसियनसनले संसद् विघटनको मुद्दामा बहस गर्न तीन जना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको छ। संवैधानिक इजलासमा रहेका मुद्दामा अदालती सहयोगीको भूमिका निर्वाह गर्न र तटस्थ तर्क पेस गर्न बारले बिहीबार बसेको बैठकले सवैधानिक कानुनका विज्ञ तीन वरिष्ठ अधिवक्ताहरुको नाम सिफारिस गरेको हो।
बारका महासचिव लिलामणि पौडेलका अनुसार वरिष्ठ अधिवक्ताहरु बद्रिबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ।
सर्वोच्च अदालत बार एसोसियनसले भने शुक्रबार मात्र दुई जनाको नाम सिफारिस गर्ने भएको छ। सर्वोच्चले नेपाल बारबाट ३ र सर्वोच्च बारबाट २ जना एमिकस क्युरी पठाइदिन आदेश गरेको थियो।
संवैधानिक इजलासले संसद् विघटन गर्नुको कारण पुस १९ गतेसम्म लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई भनेको थियो। सर्वोच्चमा दायर भएका १३ थान रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले २४ गते मुद्दाका लागि अर्को पेसी तोकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्दै प्रतिनिधिसभा विघटन भएको थियो। पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो।
बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानले नदिएको अवस्थामा पनि प्रधानमन्त्री ओलीले यस्तो सिफारिस गरेको भन्दै व्यापक आलोचना भइरहेको छ।
संविधानको व्यवस्था विपरीत संसद् विघटन गरेको जिकीर गर्दै सर्वोच्चमा १३ थान रिट एकल इजलासले सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाएको थियो। प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश रहने संवैधानिक इजलासले गत शुक्रबार पहिलो सुनुवाई गर्दै सबै विपक्षीहरुसँग लिखित जवाफ माग्ने आदेश गरेको थियो।
प्रधानमन्त्री, राष्ट्रपति कार्यालय लगायतसँग सर्वोच्चले जवाफ पेश गर्न भनेको थियो। सर्वाेच्चले अविश्वासको प्रस्ताव दर्ता, संसदको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको विवरण समेत मगाएको थियो।
के हो एमिकस क्युरी?
सर्वोच्च अदालतको संवैधानिक इजलाससम्बन्धी नियमावलीका अनुसार सर्वोच्चले कुनै पनि कानुन व्यवसायी वा विषयविज्ञलाई सुझावका लागि इजलासमा बोलाउनुलाई एमिकस क्यूरी भनिन्छ।
अदालतमा विचाराधीन मुद्दाको प्रकृति र गम्भीरताका आधारमा इजलासले सम्बन्धित विषयको विशेष ज्ञान र अनुभव भएका व्यक्तिलाई बोलाउन सक्ने प्रावधान छ।
संवैधानिक इजलाससम्बन्धी नियमावलीको परिच्छेद ५ मा एमिमकस क्युरीसम्बन्धी व्यवस्था छ। परिच्छेद ५ को उपनियम १ मा भनिएको छ, ‘आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानूनको प्राध्यापक, कानून व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी)को रूपमा झिकाई निजको राय लिन सक्नेछ।’
एमिकस क्यूरीमा झिकाइएको व्यक्तिले इजलासमा उपस्थित भई सम्बन्धित विषयमा आफ्नो तटस्थ राय प्रस्तुत गर्नुपर्ने नियमावलीको उपनियम २ मा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।