फाइल तस्बिर
काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन्। बिहीबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रस्टको आयोजनामा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दुरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ गएको बताएका हुन्।
पूर्वराष्ट्रपति यादवले असंवैधानिक कदमलाई सच्याउन सबै देशबासीको जिम्मेवारी रहेको पनि उल्लेख गरेका थिए। 'अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा सबै लोकतन्त्रवादी र मेरो पनि आशा छ,' उनले भने।
यादवले २०३३ सालमा बिपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा प्रजातन्त्र, राष्ट्रियता र शान्तिको निम्ति मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको उनको टिप्पणी छ।
नेपालको अहिलेको राजनीतिक अवस्थामा अन्तर्राष्ट्रिय ध्यान पनि केन्द्रित रहेको भन्दै पूर्वराष्ट्रपति यादवले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह नगरे राष्ट्रलाई भलो नहुने उल्लेख गरे। भू–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने पनि उनको भनाइ थियो।
राष्ट्रिय शक्ति मिलेर सबै समस्याको निदान हुने भन्दै उनले मेलमिलापको नीति आजको दिनमा अझ सान्दर्भिक भएर गएको उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।